NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा

काठमाडाैं । प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ ।

सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकास्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको मृत्यु भएको घटनाबारे बैठकलाई जानकारी गराए ।

दाङमा दुई दिनअघि युवा किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट दुई किसानको मृत्यु भएको तथा रुपा राना घाइते भएको जानकारी दिँदै पीडित परिवारलाई प्रतिपरिवार १० लाख राहत उपलब्ध गराउन माग गरिन् ।

केही दिनअघि बागलुङमा दुई बालक दिनेश विक र सुनिता विकको पनि चट्याङबाट मृत्यु भएको थियो । हरेक वर्ष चट्याङका कारण मृत्यु भइरहेको तथा अघिल्लो वर्ष ५५ जनाको चट्याङबाट मृत्यु र एकसय ४४ जना घाइतेको तथ्याङ्क सदनलाई उनले जानकारी गराइन् ।

हाल सरकारले प्रतिमृतक परिवारलाई क्षतिपूर्ति र राहतबापत रु दुई लाख उपलब्ध गराउँदै आएको छ । वर्षात्सँगै देशका विभिन्न भागमा भएको बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनामा प्रदेशमन्त्री लगायतको मृत्यु भएका सबै परिवारजनप्रति उनले श्रद्धाञ्जली व्यक्त गरिन् ।

सांसद रघुजी पन्तले प्रहरी, प्रशासन र अदालत समेतले आवश्यक ध्यान नपु¥याउँदा सप्तरीमा एक जोडी युवायुवती अन्तरजातीय प्रेम विवाह गरिएकै कारण समस्या झेल्न बाध्य बनाइएको घटना सुनाए ।

प्रेममा रहेका युवायुवतीमध्ये कथित माथिल्लो जाति समुदायबाट नक्कली नयाँ जन्म दर्ता बनाई छोरीलाई नाबालक तुल्याएर केटा पक्षलाई दुःख दिने काम भएको जनाउँदै उनले भने, ‘यस घटनामा प्रहरी, प्रशासन, अदालतले पनि ध्यान नपु¥याएको देखिन्छ ।’

अन्तरजातीय विवाहपछि उत्पन्न घटनालाई न्यूनीकरण गर्न समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा राजनीतिक दलले आवश्यक ध्यान नपु¥याएको भन्दै नेता पन्तले दोषीलाई कारबाहीको माग गरे ।

सांसद पूर्णबहादुर घर्तीले मनसुन आगामनसँगै मुलुकका विभिन्न भागमा बाढी, पहिरोले क्षति पु¥याएको जानकारी दिँदै पुल र सडकमा क्षति पु¥याउनुका साथै बस्ती जोखिममा पारेको बताए ।

सांसद सन्तोष परियारले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा जिल्ला निर्वाचन खारेज गर्ने निर्णयले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने तर्क गरे । उनले भने, ‘एउटा मात्र राजनीतिक दलको आन्दोलनले लोकतन्त्र स्थापना गरेको होइन, उक्त कार्यालय सिडियो मातहत राख्दा लोकतन्त्र अप्ठ्यारोमा पार्छ । निर्णयलाई सच्याउन आवश्यक छ ।’

सांसद धनबहादुर बुढाले से–फोक्सुण्डो क्षेत्रमा रहेको गुम्बाबाट  करोडौँ मूल्य बराबरको पुराना गरगहना चोरी भएकाले त्यसको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खाँनले जन्मसिद्धलाई नागरिकता प्रदान गर्ने विषयलाई सरल र सहज तुल्याउन माग गरे । सांसद रमा कोइरालाले संसद् भवनको मूलद्वार नजिक सधैँभर रित्ता बाल्टिनु देख्न परेको र त्यसले सुरुमै अशुभको लक्षण दिने गरेकाले त्यसको व्यवस्थापन गर्न सुझाव दिए ।

संसद् भवनको एक पाखामा पानी चुहिएने भएकाले पानी थाप्न ती बाल्टिन प्रयोग भएको हुनसक्ने बताउँदै उनले राज्यको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको उक्त भवनको संरक्षणका लागि विशेष ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए ।