NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट

हेटौंडा ।  मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रुपमा हरियो बनाउनका लागि वृक्षरोपणसहित बाँसको घेरा हालिएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम लागू गरिएको हो । चालु आर्थिक वर्षमा  बागमती गाउँपालिका–६ स्थित सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समूह र नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको छ ।

यस्तै भैरव सामुदायिक वन उपभोक्ता समूह, वडा नं ७ को शक्तिशाली सामुदायिक वन उपभोक्ता समूह, बागमतीकै वडा नं १ को त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह, वडा नं २ को बेलघारी सामुदायिक वन उपभोक्ता समूह, बकैया गाउँपालिका–२ को कल्याण सामुदायिक वन उपभोक्ता समूह, बकैयाँ–७ को प्रतिभा सामुदायिक वन उपभोक्ता समूह र बकैयाँ–८ को कालेश्वर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिए ।

डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारासमेत गरेर चरिचरन नियन्त्रण गर्दै वृक्षरोपण गरेर भविष्यमा आम्दानी लिन सक्ने वातावरण तयार गर्न लागिएको उनले बताए । वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र अतिक्रमण रोक्न मद्दत पुग्ने गौतमको भनाइ छ ।

कार्यक्रमले मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले वन व्यवस्थापन गरी मनग्य आम्दानी लिन सक्ने छन् । वनमा विभिन्न जातका रूख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाइएको छ ।

मकवानपुरगढी गाउँपालिका–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन पछि हरियाली र सुन्दर बन्ने विश्वास रहेको उक्त सामुदायिक वन समूहका अध्यक्ष सकेलाल लोले बताए ।

उनका अनुसार वन क्षेत्रमा झाडीको फँडानी गर्ने काम गर्नाका साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर विभिन्न जातका बिरुवा रोपिएको अध्यक्ष लोले जानकारी दिए । बाँसको घेराबाराभित्र बाँस, सजीवन लगायतका तीन हजार ६ सय बिरुवा रोपिएको उनको भनाइ छ ।

यसैगरी मकवानपुरको पूर्वी गाउँपालिका वकैया–७ मा रहेको हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको तीन हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष पोसबहादुर घिमिरले बताए ।

यस क्षेत्रको खाली रहेको जमिनमा चाप, टाँकी, काभ्रो, सजीवन, अमला लगायतका तीन हजार बिरुवा रोपिएको उनले जानकारी दिए । वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा यस कार्यक्रमबाट सहयोग पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।