NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडाैं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको पन्ध्रौँ बैठकमा सभामुख नन्दा गुरुङले बुधबारदेखि विषयगत मन्त्रालय तथा निकायगतरुपमा उक्त विधेयकमाथि दफावार छलफल हुने कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तालिकाअनुसार असार १३–१४ गतेसम्म भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

त्यसैगरी, असार १५–१६ गतेसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालय, १७–१८ गतेसम्म आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल गरिनेछ ।

असार १९–२० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेट तथा कार्यक्रममाथि दफावार छलफल हुने जनाउँदै सभामुख गुरुङले प्रत्येक मन्त्रालयगत र निकायगत छलफल सकिएलगत्तै छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ योजनामन्त्रीले दिने कार्यसूची रहेको जानकारी दिए ।