NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन प्रस्ताव नगरेर ठूलो गल्ती गरें : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा पश्चात्ताप भएको बताएका छन्।

कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका कोइरालाई राष्ट्रपति बनाउन प्रस्ताव नगरेकोमा पश्चात्ताप व्यक्त गरेका हुन् ।

‘गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो’, उनले भने, ‘तर उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।’

प्रचण्डले त्यतिबेला प्रधानमन्त्री पदबाट राजीनामा दिने मनस्थिति बनाएको बेला उहाँले पटक पटक राजीनामा नदिन आग्रह गरेको स्मरण गरे । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कोइरालाले खेलेको भूमिका प्रेरणादायी रहेको उनले बताए ।