NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दरबन्दी नै नभएको ठाउँमा सरुवा, सहसचिवलाई काम न कुर्सी !

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा दरबन्दी भन्दा बढी सहसचिव पुगेका छन् ।  सहसचिवको दरबन्दी हुने कैयौं निकाय खाली रहेका बेला सरकारले दरबन्दी नै नभएको ठाउँमा सहसचिव पठाएको हाे ।

केन्द्रमा प्रशासनतर्फ दुई सहसचिवको दरबन्दी छ भने प्राविधिकतर्फ एकजनाको । अहिले दुईजनाको दरबन्दी रहेको प्रशासनतर्फ तीनजना सहसचिवलाई राखिएको हो ।

दरबन्दी अनुसार कार्यालय व्यवस्थापन भइरहेका ठाउँमा थप सहसचिवलाई ‘एडजष्ट’ गर्न केन्द्रलाई सकस परिरहेको छ ।

सहसचिवको थप दरबन्दी नै नभएको केन्द्रमा सरुवा भइ पुगेका सहसचिव राजेन्द्र पौडेल यतिबेला हाजिर गरेर फर्किनेमै सिमित भएका छन् ।

राष्ट्रिय योजना आयोगमा रहेका पौडेलको गत चैतमै सरुवा भएको हो । तर दरबन्दी नै नभएको ठाउँमा सरुवा भएपछि उनी केन्द्रमा जान आनाकानी गरिरहेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेपछि रमाना नलिने कर्मचारीलाई विभागीय कारवाही गर्न सुरु गरेको छ । जसमा दर्जन बढी सहसचिवहरू कारवाहीको दायरामा आइसकेका छन् । कारवाही प्रक्रिया सुरु गरेको मन्त्रालयले दरबन्दी नै नभएको ठाउँमा सरुवा किन गराउँछ ? यसको उत्तर भने मन्त्रालयसँग छैन ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई भने यसको समाधान मन्त्रिपरिषद्लेमात्रै गर्न सक्ने बताउँछन् । ‘सामान्यतया यस्तो हुन नपर्ने हो । यदि भएको छ भने यो गलत हो,’ उनले भने, ‘उपसचिवस्तरसम्मको कर्मचारीको हकमा मन्त्रलयले निर्णय गर्न सक्छ, सहसचिवका हकमा क्याबिनेटले नै निर्णय गर्नुपर्छ ।’

मन्त्रालयको एक्सनपछि पौडेल पनि बाध्य भएर केन्द्रमा पुगेका हुन् । तर अहिले उनलाई न कुनै जिम्मेवारी छ न बस्ने कुर्सी !

केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले भने तीनमध्ये एकजना सहसचिवको सरुवा कहिले हुन्छ भन्ने पर्खाइमै बसेको जानकारी दिए । ‘यसको लागि सामान्य प्रशासन मन्त्रालयले नै प्रस्ताव पठाउनुपर्ने हो । अब हामी तीनमध्ये एकजनाको सरुवा कुरेर बसेका छौं,’ उनले भने ।