NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेस रूपान्तरणमा गगन–विश्वप्रकाशमाथि नै उठ्यो गम्भीर प्रश्न, के गर्लान् देउवा ?

काठमाडौं । २०४६ को राजनीति परिवर्तनपछि जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा कांग्रेसका शीर्ष नेतामध्ये पहिलो नम्बरमा रहेका गणेशमान सिंहले अन्तरिम प्रधानमन्त्री बन्न अस्वीकार गरे ।

आफू पार्टीको अभिभावकको भूमिकामा रहने भन्दै कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । सिंहको प्रस्ताव स्वीकार गरेका भट्टराईले एक वर्षभित्र नयाँ संविधान जारी गरी २०४८ मा आम निर्वाचन गराए । पार्टीले दिएको दायित्व इमान्दारपूर्वक पुरा गरे ।

देशभर कांग्रेसले ११० सिटसहित बहुमत ल्यायो  तर आफैले गराएको निर्वाचनमा भट्टराई पराजित भए । चुनावी परिणामपछि सिंह अभिभावककै भूमिकामा सिमित रहे । भट्टराई पराजित भएपछि तेस्रो तहका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको सर्वोच्च पदमा पुगे । सिंह र भट्टराईकै प्रस्तावमा कोइराला प्रधानमन्त्री भएपछि त्यतिबेला कांग्रेसभित्र निकै असहज स्थिति भएको लामो समय कोइरालाका स्वकीय सचिव रहेका हरि शर्माको अनुभव छ ।

२०३९ सालमा तत्कालीन सभापति बीपीले यी नै तीन जना नेताको हातमा कांग्रेस र मुलुकको जिम्मेवारी छाडेका थिए । बीपीपछि यी तीनै जनाबीच एकआपसबीच समन्वय, सहकार्य र सहमतिका कारण २०४६ सालको आन्दोलन सफल भएको थियो । त्यतिबेला कांग्रेसीहरूले सिंहलाई लौह पुरूष, भट्टराईलाई सन्त, त्यागी नेता र कोइरालाई क्रान्तिकारी नेताका रूपमा परिभाषित गरेका थिए ।

शर्माको दृष्टिकोणमा सिंह, भट्टराई र कोइरालाको राजनीतिमा आ–आफ्नै योगदान रहेको छ। ‘भट्टराई विद्रोही र सरल स्वभावको हुनुहुन्थ्यो । निकै अप्ठ्यारो प्रश्नको जवाफ पनि सजिलोसँग दिने उहाँको आदत थियो । सिंह बीपीसँग लामो संगत भएको व्यक्ति भएकाले उहाँलाई संघर्ष, बलिदान, अटल साहस र विश्वासको प्रतीक मानिन्थ्यो । कोइरालाले सशस्त्र आन्दोलन र विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय नेतृत्वको भूमिका निर्वाह गर्नुभयो । उहाँकै नेतृत्वमा २०६२/६३ को जनआन्दोलन सफल भएको थियो’, कांग्रेसका तत्कालनी शीर्ष तीन नेतामाथि उनको विश्लेषण थियो ।

तर बीपीको विचार, आदर्श, सुवर्ण शमशेरको पार्टीप्रतिको लगाव, समर्पण, त्याग, सिंह र भट्टराईकाे निष्ठाको राजनीतिको जगमा झाँगिएको कांग्रेस पछिल्लो समय पद, प्रतिष्ठा, सत्ता र शक्तिका लागि भ्रष्टिकरण हुँदै गएको आरोप लाग्ने गरेकाे छ ।

कांग्रेसभित्र शक्ति संघर्ष, देउवाको भाग्योदय

तत्कालीन कांग्रेस राजनीतिभित्र कागतालीबाट शक्तिमा आएका गिरिजाप्रसाद काेइराला १२ चैत, २०४८ मा एकल बहुमतको प्रधानमन्त्री भए । तर आन्तरिक शक्ति संघर्षका कारण कोइराला सरकार तीन वर्ष नपुग्दै दुर्घटनामा पर्यो । २०५१ सालमा कोइराला सरकारले ल्याएको नीति तथा कार्यक्रम कांग्रेसभित्रकै ३६ जना सांसदले असहयोग गर्दा फेल भयो । एकातिर विपक्षी एमालेको निरन्तर सडक र सदन संघर्ष, अर्कोतिर पार्टीभित्रैबाट असहायोग भएपछि कोइरालाले पदबाट राजीनामा दिए र मध्यावधि घोषणा गरे । उक्त घटनालाई राजनीतिक अस्थिरताको सुरूआत विन्दुका रूपमा हेरिन्छ । सो दुर्घटनापछि कांग्रेसभित्र ‘३६ से र ७४ रे” को कित्ताकाँट नै भयो । यद्यपि, कांग्रेसभित्र आन्तरिक शक्ति संघर्ष बीपी कोइराला र मात्रिकाप्रसाद कोइरालकै पालादेखि भएको देखिन्छ । त्यतिबेला सत्ता र शक्तिभन्दा पनि बढी विचारको मन्थन हुने गरेको विश्लेषकको भनाइ छ ।

कोइरालाको कदमले देशलाई सरकार फेरबदल, संसद विघटनको अनिश्चित र अन्यौलपूर्ण शृंखलामा प्रवेश गराएको विश्लेषण गरिन्छ । त्यसपछि कांग्रेस आफै एकपछि अर्को गन्जागोलमा फस्दै गयो । २०५९ मा कोइराला र देउवाबीचको सत्ता र शक्ति संघर्षले पार्टी नै विभाजन भयो । कांग्रेसका नेताहरू एकपछि अर्को भ्रष्टाचार मुद्दामा जेल परे । सशस्त्र माओवादी द्वन्द्व नियन्त्रण गर्न कांग्रेस नेतृत्व सरकार असफल भयो । सत्तालाई व्यक्तिगत लाभ, आर्थिक अपचलनको स्रोत र गुटगत स्वार्थसँग भजाउने, आसेपासेको झुण्ड झाँगिने क्रमः २०५१ देखि तिब्र गतिमा बढेको देखिन्छ । त्यो क्रम अहिले पनि जारी छ । २०५६ मा दोस्रोपटक प्रधानमन्त्री भएका भट्टराई सरकार सञ्चालनमा पार्टी भित्रबाट नै असहयोग भएपछि राजीनामा दिएर सक्रिय राजनीतिबाट अलग भए । त्यसपछि कोइराला र देउवाबीचको शक्ति संघर्ष निरन्तर चलिरह्यो । २०६७ चैतमा गिरिजाप्रसादको निधनपछि नेतृत्वमा आएका सुशिल कोइराला २०७० को निर्वाचनपछि प्रधानमन्त्री भए । उनकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । संविधान जारीपछि सत्ताच्युत भएका कोइरालाको पनि सोही वर्ष निधन भएपछि देउवा पार्टी नेतृत्वमा शक्तिशाली भएका हुन् ।

२०४९ सालमा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका देउवा अस्थिर राजनीतिको फाइदा उठाउँदै २७ भदौ, २०५२ मा पहिलो पटक प्रधानमन्त्री भए । त्यसपछि २०५८, २०६१, २०७४ र २०७८ गरी पाँच पटक प्रधानमन्त्री हुन सफल भए । उमेरले ७७ वर्ष लागेका उनी छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । २०७२ सलमा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका उनी २०७८ मंसिरमा काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित भए ।

सुदूरपश्चिको विकट जिल्ला डडेलधुरामा जन्मिएका देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा उनी डडेल्धुरा जिल्लाबाट निर्वाचित भए । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भए । २०७४ र २०७९ मा भएको संघीय संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित भए । नेपालको संसदीय इतिहासमा ३२ वर्षसम्म लगातार निर्वाचन जित्ने उनी एक्ला नेता हुन् । तर दोस्रोपटक सभापतिमा निर्वाचित भएको दुई वर्ष नपुग्दै देउवा नेतृत्वले अवको कांग्रेस बोक्न नसक्ने आरोप लगाउँदै महामन्त्री गगन थापाले विशेष महाधिवशनको माग गरेका छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन् ।

महाधिवेशनपछि महामन्त्रीद्वयले देउवाको कार्यशैली परिवर्तन, भ्रातृ संस्थालाई पूर्णता र तत्काल विभाग गठनका लागि दबाब दिँदै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पुर्पक्षका लागि जेल चलान भएपछि पनि निलम्बन नगरिएकोमा उनीहरू असन्तुष्ट छन् । तर, उनीहरूले उठाएको माग सुन्न देउवा तयार छैनन् ।  गगन पुस्ताले सरकारमा मन्त्री पठाउने, नागरिकता विधेयक प्रमाणीकरण, अदालतबाट जन्म कैद सँजाय पाएका रेशम चौधरीलाई आममाफी दिएको, संसद् विकास कोष ब्युँताएको लगायतका दीर्घकालीन महत्वका विषयमा देउवाले एकलौटी निर्णय र सहमति दिएको विषयलाई विशेष महाधिवेशनको मुख्य एजेण्डा बनाएका छन् । आगामी केन्द्रीय समिति बैठकमा महामन्त्री द्वयले यी विषयलाई देउवाको असफलतासँग जोडेर संस्थापनइतर भनेर चिनिएका कोइराला समूहको साथ र समर्थन खोज्ने रणनीनि बनाएको निकटस्थ एक नेताले बताए ।

‘अहिलेको नेतृत्वबाट कांग्रेस रूपान्तरण सम्भव छैन । नेतृत्वमा मात्र होइन, संगठन, व्यवहार, कार्यशैली हरेकमा रूपान्तरण हुन जरूरी छ । नेतृत्व पुरानै ढर्रामा गएको छ । विधानसमेत मानेका छैनन् । महाधिवशेन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा अहिलेसम्म भएको छैन । भातृसंगठनको अधिवेशन नभएको ७/८ वर्ष भयो । कोठामा बसेर नेतृत्व चयन गर्ने होइन कार्यकर्तामाझबाट हुनुपर्छ’, ती नेताले भने ।

कांग्रेस रूपान्तरणका लागि तेस्रो पुस्ताका नेताहरूले देशव्यापी अभियान नै सञ्चालन गरेका छन् । डा. गोविन्द पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, मधु आचार्य, देवराज चालिसे, भुपेन्द्रजंग शाही, भरतबहादुर खड्का लगायत नेताहरूले कांग्रेस रूपान्तरणको अभियान नै चलाएका छन् । अभियानको क्रममा सातै प्रदेशमा प्रशिक्षण, भेला, अभिमुखिकरण गर्नेदेखि रुपान्तरणका लागि नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गर्ने काम सकेका छन् ।

अभियानले सातै प्रदेशमा संयोजक तोक्ने क्रममा कोशीमा गुरुराज घिमिरे, मधेसमा रञ्जित कर्ण, बागमतीमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही, सुदूरपश्चिममा भरतबहादुर खड्का संयोजक छन् ।

कांग्रेस रुपान्तरणमा गगन–विश्वप्रकाशमाथि नै उठ्याे प्रश्न 

१६ असारमा नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको पहिलो सम्मेलनमा प्रमुख अतिथि रहेका थिए महामन्त्री गगन थापा । सोही कार्यक्रममा पुराना नेता ताराबहादुर कोइराला लगायत नेताहरू पनि सहभागी थिए । पुराना पुस्ताका स्पष्ट र खरो नेता मानिने कोइरालाले गगन–विश्वप्रकाशमाथि कटाक्ष गर्दै देउवा प्रवृत्तिको रोग उनीहरूमा समेत लागेको आरोप लगाए । थापाले भाषणमा जतिसुकै कांग्रेस रूपान्तरणको नारा लगाएपनि व्यवहारमा देउवा र गगन–विश्वप्रकाश पुस्ता उस्तै भएको जिकिर गरे ।

‘गगनजीको पुस्ताले कहिले रुपान्तरणको नारा दिनुहुन्छ, कहिले केको नारा दिनुहुन्छ । हामी उहाँलाई विश्वास गर्छौं, पछि लाग्छौं’, थापामाथि आक्रोस पोख्दै उनले भने, ‘तर नारा र लेखेको भाषणले मात्र कांग्रेस रुपान्तरण हुँदैन, शेरबहादुर प्रवृत्तिको अन्त्य पनि हुदैन, मुलुकको रक्षा पनि हुँदै ।’

शेरबहादुरले गुटबन्दी गरे । भ्रष्टाचार गरेर पैसाको आधारमा राजनीति गरे भने आफूले भ्रष्टाचार गर्दिन, तस्कर र माफियासँग सम्बन्ध राख्दिन भन्ने गगन पुस्ताले राख्नुपर्ने उनले बताए ।

‘शेरबहादुरले गुटबन्दी गरे । भ्रष्टाचार गरेर पैसाको आधारमा राजनीति गरे भने तपाईं भ्रष्टाचार गर्दिन, तस्कर र माफियासँग सम्बन्ध राख्दिन भन्ने वचनवद्ध हुनुपर्छ । हैन भने श्रीमान गगन थापा र शेरबहादुरमा फरक कसरी देख्ने ? महाधिवेशनमा आफ्ना नजिकका मानिसलाई केन्द्रीय सदस्य चाहिने । तपाईंका आफ्ना भरौटेहरूलाई टिकट चाहिने । शेरबहादुरलाई पनि त्यही चाहिने अनि गगन र शेरबहादुरमा कसरी फरक देख्ने ? तपाईं दुईवटा नेविसंघ बनाएर हिड्ने । केन्द्रीय सदस्यको नाममा सयौं कार्यकर्ता भर्ती गर्ने । अनि सुधार र रुपान्तरणका कुरा गर्ने ?’, उनले प्रश्न गरे ।

कोइरालाले कांग्रेस बनाउने हो भने निष्पक्ष, विधि, विधान र नीतिमा चल्न थापालाई सुझाव दिए । जता हावा बग्यो उतै दौडिने मान्छे महान नेता बन्न नसक्ने उनको चेतावनी थियो ।

कांग्रेस बनाउने हो भने निष्पक्ष बन्नुहोस्, विधिमा चल्नुहोस् । शेरबहादुरको पदको विरोध नगर्नुर्होस् । केन्द्रीय समितिमा नीतिगत लडाईं लड्नुहोस् । पदको लागि मात्रै दौडिनुभयो भने तपाईं पनि पतन हुनुहुन्छ । त्यसपछि नयाँ नेतृत्व जन्मिन्छ’, थापालाई सुझाव दिँदै उनले भने, ‘जता हावा बग्यो त्यतै दौडिने मान्छे महान नेता हुन सक्दैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, कांग्रेसको भविष्य र मुलुकको भविष्य भनेको तपाईंहरू हो । तपाईं आँट गर्नुहोस् । राज नेता त्यसै बन्दैन । हिजोको अवस्थाले अव कांग्रेस चल्दैन । तपाईं रूपान्तरण भन्नुहुन्छ । खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनुमात्र रूपान्तरण होइन । रूपान्तरण विचार, कार्यशैली, प्रवृत्तिमा हुनुपर्छ । मुलुक बनाउने योजनामा रूपान्तरण हुनुपर्छ ।’

कांग्रेस नेतृत्वमा देखिएको समस्या

कोइरालाको विचारमा सहमति जनाउँदै महामन्त्री थापाले सरकारमा पुग्नुमात्र कांग्रेसले लक्ष्य नभएको तर्क गरे । कांग्रेसको जस्तोसुकै ठूलो नेता भएपनि भ्रष्टाचार वा अन्य जघन्य अपराधमा आरोप लागेको छ भने पार्टीबाट अलग हुनुपर्ने बताए । अहिले कांग्रेसले सत्ता र निर्वाचनको मात्र चिन्ता गरेको भन्दै उनले जिल्ला, प्रदेश समिति भंग गरेर निर्वाचन परिचालन समिति गठन गरे नेतृत्वलाई सुझाव दिए । केन्द्रीय समिति नराखेर केन्द्रीय निर्वाचन परिचालन समिति राख्न उनले व्याङ्ग गरे । उनल सत्ता, शक्तिका लागि कांग्रेसले जेपनि गर्छ भन्ने जनमानसमा परेको भन्दै उनले आगामी नीति सम्मेलनबाट यी सबै प्रश्नको हल खोजिने उनले बताए ।

‘२०४८ सालमा कांग्रेस सबैको भरोसाको केन्द्र थियो, त्यतिबोला विनासर्त सबैले भोट हाले । नेतृत्वमा कुनै विचलन थिएन । भ्रष्टाचार, गुटगत स्वार्थ थिएन । अहिले सरकारका लागि कांग्रेसले जेपनि गर्छ, भ्रष्टाचारमा लिप्त मानिसलाई संरक्षण गर्छ, आफ्नो आसेपासेमा मात्र चिन्तित छ । हाम्रो भविष्यको बारेमा चिन्ता गर्दैन । राष्ट्रियताको संरक्षणमा दह्रोसँग खुट्टा टेकेको छैन भन्ने आम मानिसमा छाप परेको छ’, उनले भने, ‘कांग्रेसभित्र समस्या यी नै हुन् भने समाधान पनि हामीसँगैै छ । जहाँ जहाँबाट समस्या देखिएको छ, त्यहाँबाट आफूलाई रुपान्तरण गर्नुपर्छ । केही समयमा कांग्रेसको नीति सम्मेलन हुन्छ, त्यसले महत्वपूर्ण निर्णय गर्छ ।’

उनले कांग्रेस सकियो भनेर छाति पटेर केही नहुने भन्दै कांग्रेस सिध्याउन राजा, माओवादी र बन्दुकले नसकेकोमा कसैले नसक्ने उनले दाबी गरे । आगामी दिनमा कांग्रेसले १० वाटा चुनाव हारेपनि कसैसँग तालमेल गर्न नहुने तर्क गरे ।

‘पहिलो कांग्रेसले एउटा, दुईवटा वा १० वटा चुनाव हार्ला । चुनावसम्म सबै कम्युनिस्ट एउटै भएर लडेछन् भने पनि तालमेल गरिन्न भनेर कांग्रेसले निर्णय गर्नुपर्छ । यसलाई स्वीकार गरेर, समीक्षा गरेर जानुपर्छ । यसले घाटानाफा के हुन्छ थाहा छैन । तर यस्ता निर्णयले सरकारमा पुग्न कांग्रेसले जेपनि गर्छ भन्ने नजरिया जनतामा हट्छ । दोस्रो कांग्रेस सरकारमा बस्दा वा जाँदै गर्दा केही सर्तहरू राखौं । चुनावपछि कसैको बहुमत आएन भने कुनै न कुनै दलसँग मिलेर सरकार बनाउने र भत्काउने काम स्वभाविक हो । तर सर्त राखौं । अहिले हामी माओवादीसँग गठबन्धनमा छौं । यसपछि १० सिट भएको पार्टीका नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाउन काँधमा बोक्न तयार भएका छौं किनभने त्यसो भएन भने अर्कोसँग मिल्छ भन्ने डर हामीलाई छ । सरकारबाट बाहिर जानुपर्ला कि भनेर डराएका छौं’, उनले भने ।

कार्यक्रममा थापाले ३० औं वर्षसम्म नेतृत्व परिवर्तन नहुँदा समस्या आएको जिकिर गरे । एउटै व्यक्ति ५/६ पटकसम्म प्रधानमन्त्री भएको देश नेपाल मात्रै भएको टिप्पणी गरे । यी र यस्ता प्रवृत्ति रहेसम्म कांग्रेस र मुलुक नबन्ने बताए ।

’संसारमा कुनै एउटा देश मलाई बताइदिनोस्, जहाँ एउटा नेता ५/ ६ पटक प्रधानमन्त्री भएको । कहिँ पनि हुँदैन । कुनै डेमोक्र्यासीमा हुँदैन’, उनले भने, ’नेपालमा पुराना पार्टी कांग्रेस, एमाले र माओवादी एकसाथ किन संकटमा पर्यो । उनीहरू जमेको पोखरी जस्तै भए । २०, २५, ३० वर्षदेखि नेता नबदल्ने कुनै पार्टी हुँदैन । पार्टी त्यसरी बन्दैन । हामीमा इन्ट्रीमात्र भयो, एक्सजिटको व्यवस्था भएन ।’

सभापति देउवामाथि थापाको टिप्पणीलाई लिएर परराष्ट्रमन्त्रीसमेत रहेका नेता एनपी साउदले कडा जवाफ फर्काएका छन् । सुदूरपश्चिमको अछाममा आइतबार स्थानीय कार्यक्रममा बोल्दै उनले देउवा कुनै भाग्यले ५/६ पटक प्रधानमन्त्री नभएको भन्दै योग्यता र क्षमताले भएको बताए । उनले बाहिर भाषणबाजी गरेर नेतृत्वको आलोचना गर्दैमा कांग्रेस रूपान्तर नहुने तर्क गरे । आफविरूद्ध केन्द्रीय समितिमा आवाज उठ्ने भएपछि सभापति देउवाले पुस २२ मा बोलाएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै आएका छन् ।

मंसिरको निर्वाचनपछि नयाँ पुस्ता र नयाँ दलहरूले परम्परागत दललाई धक्का दिएको अवस्थामा २०८४ को आम निर्वाचनसम्म कांग्रेसको अहिलेकै नेतृत्वले चुनौती पार गर्न सक्ला ? महामन्त्री द्वयले भनेबमोजिम देउवा विशेष महाधिवशेन गर्न तयार होलान् ? कांग्रेस रूपमान्तरणमा उनको भूमिका कास्तो रहला ? कांग्रेसी नेता तथा कार्यकर्ताले आरोप लगाए जस्तै गगन पुस्ता र देउवा उस्तैउस्तै हुन् त ? कांग्रेस रूपमान्तरण कसरी सम्भव छ ? यी प्रश्न नेतृत्वमाथि पेचिलाे रूपमा खडा भएकाे छ ।