NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रचण्डको प्रीतम सिंह ‘कनेक्सन’, शंकरले किन जनाए आपत्ति ?

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित र अवमुल्यन गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले राजधानीमा भएको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंहले निकै मेहनत गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर पोखरेलले आपत्ति जनाएका हुन् ।

प्रचण्डको धुर्त्याईंले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नभएको र सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटक घटनाक्रम साक्षी रहेको उनले उल्लेख गरेका छन् ।

उनले नेपालमा प्रधानमन्त्री बनाउन बाह्य रूपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा भएको स्मरण गराए ।

‘प्रीतम सिंहले मलाई प्रम बनाउन दिल्लीसमेत जानुभयो भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो’, उनले भने, ‘प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ ।’ प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभाका सदस्यहरूको गम्भीर ध्यान जानेमा उनले विश्वास लिएका थिए ।

लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) पुस्तकको विमोचन गर्दै प्रचण्डले सिंहको प्रशंसा गरेका थिए ।

‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंका थोरै पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो,’ प्रचण्डले स्मरण गरेका थिए ।

को हुन् सिंह ?

ट्रक चालकको रुपमा २२ वर्षको उमेरमा पहिलोपटक काठमाडौं आएका सरदार सिंह नेपालको यातायात क्षेत्रका अग्रणी मानिन्छन् । भारतको जम्मूमा जन्मिएका उनी सन् १९५७ मा पहिलो पटक काठमाडौं आएका थिए । केही समय बसेर उनी फेरी घर फर्किए ।

नेपालमा यातायात क्षेत्र, सडक र व्यवसायी सम्भाव्यता अध्ययन गर्न बुवा कहन सिंहका साथ दोस्रोपटक नेपाल आउँदा राजा महेन्द्रसँग भेट गरे । महेन्द्रले यातायात क्षेत्रमा लगानी गर्न आग्रह गरेपनि उनले व्यवसाय सुरू गरेका थिए । त्यसपछि दरबार, उच्च राजनीतिज्ञसँग राम्रो सम्बन्ध रहेका उनको प्रधानमन्त्री प्रचण्डसँग घनिष्ट सम्बन्ध रहेको छ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सिंहले प्रचण्डसँग पहिलोपटक भेट गरेका थिए । त्यसपछि प्रचण्डसँग पटक पटक  भेट हुँदै आएको छ । शीख धर्मालम्बीहरूप्रति प्रचण्डले देखाएको सम्मानकाे सिंहले प्रशंसा गर्दै  आएका छन् । नेपालको यातायात क्षेत्र, शिक्षा क्षेत्रमा सिंहको लगाव देखेर प्रधानमन्त्री प्रचण्ड पनि प्रभावित रहेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएका उनीसँग सिंहकाे अहिले पनि बारम्बार भेट भइरहेको बुझिएको छ ।