NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गगन र विश्वप्रकाशको निम्तामा कांग्रेस जिल्ला सभापति काठमाडौंमा

बैठक दुई दिन चल्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला आजदेखि राजधानीमा हुँदैछ ।

सो पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सभापतिहरूको भेला हुन लागेको हो ।

जिल्ला सभापतिहरूसहितको बैठक बिहीबार मध्याह्न १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तय छ ।

भौतिक रूपमा बैठकमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको सो पार्टीले जनाएको छ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने बैठक पार्टी सदस्यता वितरण, नवीकरण, पार्टी सञ्चालन पद्धतिलगायत एजेण्डामा केन्द्रित हुने बताइएको छ ।

लामो समयदेखि केन्द्रीय समिति बैठक हुन नसकिरहेका बेला जिल्ला सभापतिको भेला हुन लागेको हो । संस्थापनइतर पक्षले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले उदासीनता प्रकट गर्दै आएका छन् । नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा अमेरिका पठाउने गिरोहसँग संलग्नको अभियोगमा कारागार चलान बालकृष्ण खाँणमाथि कारबाही गर्नुपर्ने दबाब थेग्न चलाखीपूर्वक बैठक नराखेको देउवामाथि आरोप छ ।