NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रचण्डले ‘भारतले सघाएर प्रधानमन्त्री बनेँ’ भन्नुभएको छैन : गृहमन्त्री श्रेष्ठ

'प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत'

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।

केही दिनअघि आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठले यस्तो जिकिर गरेका हुन् । यसबारे प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिनेसमेत उनले बताए ।

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने जिकिर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए ।

प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको पनि उनले बताए । प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको तर्क गरे ।

भारतको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्रीले दिएकाले उनले राजीनामा दिनुपर्ने माग एमालेले गरेको छ । यही तर्क गर्दै बुधबारको प्रतिनिधिसभा बैठकसमेत एमालेले अवरोध गरेको थियो ।

संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् सञ्चालन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक हिजो संसद्बाट पारित गरिनुपथ्र्यो । त्यो पारित नभएको कारणले हिजोकै दिनबाट अध्यादेश निष्क्रिय भएको छ । तर मिटरब्याजी पीडितलाई न्याय दिने काम रोकिँदैन ।”

सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको उनले जानकारी दिए । अनुसन्धान र प्रमाणले भेटे जति सबैलाई कानुनी दायरामा ल्याइने उनको भनाइ छ । व्यक्ति हेरेर फाईल नखोलिने स्पष्ट पार्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “अपराध नियन्त्रण गर्न, ठगी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र अपराधी एवं भ्रष्टाचारीलाई कारबाही गर्न प्रहरी सङ्गठनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउँछ ।”

दोषीलाई कानुनको दायरामा ल्याउन सरकारपछि नहट्ने उनले उल्लेख गरे ।