NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण : सभामुखलाई जोडेर बहुमत पुर्याए अमान्य

काठमाडौं । विपक्षी गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत जोडेर बहुमतको दाबीसहित मुख्यमन्त्री दाबी गर्न लागिएको भन्दै एमालेले प्रदेश प्रमुख परशुराम खापुङको ध्यानाकर्षण गराएको छ ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका दाबेदार रहेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुखसहित कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थनमा केहीबेरमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका छन् । तर विपक्षी गठबन्धनले दाबी गर्नुअघि नै मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रमुख खापुङलाई भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिए कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने उल्लेख गरिएको छ ।

हाल सरकारमा रहेको राप्रपालाईसमेत समेटेर मुख्यमन्त्री दाबी गर्ने गठबन्धनको प्रयास असफल भएपछि सभामुखलाई जोडेर बहुमत सिद्ध गर्न लागिएको हो ।

९३ सदस्यीय प्रदेश सभामा सत्ता पक्ष एमालेको ४०, राप्रपाको ६ सिट रहेको छ । त्यस्तै विपक्षी कांग्रेससँग २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको एक गरी ४७ पुग्छ । बहुमतका लागि ४७ सिट आवश्क पर्छ । तर सत्ता पक्ष र विपक्षसँग ४६÷४६ सिट रहेकाले सरकार गठन सकस परेको छ ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । गठबन्धनको प्रस्ताव प्रदेश प्रमुखले अमान्य हुने घोषणा गरे संविधानको धारा १६८(३) बमोजिम सभामा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेकै नेतृत्वमा सरकार बन्नेछ । अल्पमतको सरकारका मुख्यमन्त्रीले ३० दिनभित्र सभाबाट विश्वासको मत नपाए उपधारा ५ मा प्रवेश गर्नेछ । त्यसमा पनि कसैले बहुमत जुटाउन नसके संवैधानिक व्यवस्था अनुसार मध्यावधिमा जानेछ ।