NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

संसदीय राजनीतिमा माओवादीको ‘ब्याक गियर’, २०६४ मा जाला कि २०४८ ?

काठमाडौं । २०७९ मा भएको तीनै तहको निर्वाचन परिणामले परम्परागत मुख्य दल कांग्रेस, एमाले र माओवादी झस्किएका छन् । २०६३ को मधेश विद्रोहबाट जन्मिएका क्षेत्रीय दलहरू जसपा, लोसपा लगायत दलहरूसमेत खस्किएका छन् । अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले योपटक केही सुधार गरेपनि एकल प्रतिस्पर्धा गर्ने आँट गर्न सकेन ।

मधेश र पहाडका केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको एमालेले पनि अपेक्षाकृत परिणाम ल्याउन सकेन । यद्यपि पुरानतपन्थी दल राप्रपाले योपटक निकै सुधार गरेको छ । निर्वाचनअघि खुलेका नयाँ दल रास्वपा, जनमत पार्टी, नाउपाले पुराना दलहरूलाई निकै टक्कर दियो । तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको माओवादीले आफ्नो पोजिसन जोगाउनका लागि रास्वपासँग चुनौतीपूर्ण प्रतिस्पर्धा गर्नुपर्यो ।

पार्टी खोलेको ५ महिनामै ठूला भनिएका कांग्रेस, एमाले र माओवादीसँग प्रतिस्पर्धा गरेको रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट ल्यायो । जबकी १० वर्ष सशस्त्र युद्धबाट आएको माओवादी केन्द्र चारवटा निर्वाचनमा आइपुग्दा ३२ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फ रास्वपाले ११ लाख ३० हजार बढी मत ल्याउँदा माओवादीले जम्मा ११ लाख ७० हजार बढी मत ल्यायो । तीनै तहको निर्वाचनमा कांग्रेस पहिलो दल भएपनि समग्रमा मत संख्या घटेको छ । दोस्रो दलमा खुम्चिएको एमालेको अवस्थामा पनि कुनै सुधार भएको देखिँदैन ।
२०४८ देखि एकछत्र राज गर्दै आएका परम्परागत यी दलहरूलाई नयाँ खुलेका दल र तीनका उम्मेदवारहरूले चुनौतीपूर्ण टक्कर दिएपछि आगामी निर्वाचनको तयारीका लागि अहिलेदेखि नै रणनीति बनाउन लागेका छन् ।

‘मिसन ग्रासरुट’ अभियानबाट पार्टीभित्र देखिएको समस्या उत्खननमा लागेको एमालेले ‘मिसन २०८४’ अभियान नै सञ्चालन गर्ने भएको छ । कांग्रेसका तेस्रो पुस्ताले पार्टी नेतृत्व परिवर्तनसहित कांग्रेस रूपान्तरणको अभियान चलाएका छन् । स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूप्रति जनमत आकर्षित भएपछि अन्तालिएका पुराना दलहरू पार्टी अस्तित्व जोगाउनका लागि विभिन्न अस्त्रबारे आन्तरिक छलफल र रणनीतिमा लागेका छन् ।

यसैगरी २०७० को निर्वाचनपछि लगातार ओरालो लागेको माओवादी केन्द्रले आफ्नो अस्तित्व रक्षाका लागि समाजवादी मोर्चा हुँदै नेकपा ब्युँताउने सम्मको कसरत गरिरहेको छ । संसदीय निर्वाचनमा सबैभन्दा सिथिल रहेको माओवादीले आगामी निर्वाचनमा पार्टी अस्थित्व नै संकटमा पर्ने देखिएपछि सहकार्यका लागि माओवादी घटक, साना वामपन्थी पार्टीहरूसँग सहकार्य र एकतासम्मको हात फैलाएको छ । केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विप्लव नेतृत्वको नेकपा, जसपा र नेकपा एस मिलेर समाजवादी मोर्चा नै गठन गरिसकेका छन् । मोर्चालाई स्थानीय तहसम्म विस्तार गर्नेगरी गृहकार्य भइरहेको वार्ता टोलिका सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् । बुधबार राजधानीमा भएको अनेरास्ववियुको काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमै सबै माओवादी घटकहरू एक ठाउँमा आउने खुलासा गरे । कार्यक्रममा निकै हौसिएका उनले २०८४ को निर्वाचनमा माओवादी २०६४ को भन्दा ठूलो हुने दाबी गरे । सरकारले गरेको राम्रो कामबाट जनताले आफूलाई समर्थन गर्ने उनको विश्वास थियो ।

प्रचण्डको आत्मविश्वाले तंग्रिएला माओवादी ?

‘केही दिनभित्रै सबै माओवादी घटकहरू एक ठाउँमा आउने तपाईंलाई म जानकारी गराउन चाहन्छु । सरकारले गरेको राम्रो कामले विपक्षीहरू विक्षिप्त भएका छन् । मैले सुन्दैछु केहि दिनअघि मैले सरदार प्रीतम सिंहबारे बोलेको कुरालाई लिएर राजीनामा मागिएको छ । यसैबाट प्रष्ट हुन्छ विपक्षीहरू कति विक्षिप्त भएका छन्’, उनले भने, ‘म १५ दिन सरकारमा बसेपनि भ्रष्टाचार नियन्त्रण र जनपक्षीय काम गर्नेछु । आगामी निर्वाचनमा जनतको समर्थनमा २०६४ को भन्दा ठूलो दल बन्नेछ ।’

लगातार पार्टीको अवस्था खस्किँदै जाँदा निराश देखिएका प्रचण्डमा एकाएक आत्मविश्वस बढ्नुमा भ्रष्टाचार फाइल खोलेपछि जनसमर्थन पाउनु, वामपन्थी विचारधाराबीच समाजवादी मोर्चा बन्नु र पूर्वमाओवादी घटकहरू एक ठाउँमा आउने वातावरण बन्नु देखिन्छ । प्रचण्डको बुझाइमा पूर्वमाओवादीसहित समाजवादी मोर्चा बनाउन सकिए २०८४ को निर्वाचनसम्म एमालेसमेत वामपन्थी एकतामा आउन बाध्य हुने देखिन्छ । तर नेकपा ब्युँताउने प्रचण्डको घोषणामा एकीकृत समाजवादीसहित केही वामपन्थी दलहरू सकारात्मक भएपनि एमालेको मूल नेतृत्वले स्वीकारेका छैनन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टीको अस्थित्व नै समाप्त हुने देखिएपछि आत्तिएका प्रचण्डले नेकपा ब्यूँताउन कुरा गरे पनि त्यो सम्भव नभएको बताए ।

‘२०७४ को निर्वाचनमा प्रचण्डजीलाई धेरै नै विश्वास गरेर पार्टी एकतासमेत गर्यौं । तर एमालेको उदारताको फाइदा उठाउँदै नेकपा सिध्याउने खेलमा लाग्नुभयो । एमालेसमेत विभाजन गर्नुभयो । आगामी निर्वाचनमा माओवादीको अस्थित्व रहनेवाला छैन । सम्भावित चुनावी परिणामबाट आत्एिका उनले उहाँले समाजवादी मोर्चा, वापमन्थी एकता र नेकपा ब्युँताउने विषय निकालेर भ्रम छर्ने कोसीस गरिरहनुभएको छ, त्यो सम्भव छैन ।’

नेम्बाङको विचारप्रति असहमित राख्दै माओवादीका नेता लेखनाथ न्यौपानेलले वामपन्थी एकतामा एमाले नआए आगामी दिनमा सबैभन्दा क्षति एमालेलाई पुग्ने जिकिर गर्छन् । २०८४ को निर्वाचनमा माओवादीको अवस्था धेरै नखस्किए पनि धेरै सुधारको खाँचो रहेको बताए ।
‘वामपन्थी दलहरूबीच एकता नभए एमालेलाई सबैभन्दा बढी क्षति पुग्छ । अहिलेकै अवस्थामा माओवादीको स्थिति धेरै कमजोर नभएपनि धेरै सुधारको आवश्यक छ । त्यसका लागि पूर्वमाओवादीहरू एक ठाउँमा आउन जरूरी छ’, उनले भने ।

प्रचण्डको आत्मविश्वास सहितको अभिव्यक्तिले नेता तथा कार्यकर्तामा आशा जागाए पनि ५ वाटा निर्वाचनमा पाएको माओवादी जनमतले उनको दाबी पुष्टी हुने देखिँदैन । २०७४ मा एमालेसँग सहकार्य गर्दासमेत माओवादीले प्रत्यक्ष र समानुपातिक गरी जम्म ५३ सिट जित्यो । तर अघिल्लो निर्वाचनको तुलनामा माओवादीले कुल खसेको सदर मतमध्ये १३.६६ प्रतिशत अर्थात् १३ लाख ३ हजार ७२१ मत पायो । मंसिरमा भएको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्दा ३२ सिटमा खुम्चिएको माओवादीले समानुपातिकतर्फ ११.१७ प्रतिशत अर्थात् ११ लाख ७५ हजार ६८४ मत प्राप्त गर्यो ।

माओवादीको नेतृत्वको कार्य शैली, संगठनात्मक स्वरूप, गुटगत स्वार्थ, अन्तर्विरोध, एकअर्काबीच अन्र्तघात अहिलेपनि ज्युँकात्युँ छ । पार्टीको विचार, नीति, सिद्धान्त, कार्यदिशा, कार्यक्रम पुरानै ढर्राको छ । पार्टीप्रति युवाहरूलाई आकर्षित गर्ने कुनै कार्यक्रम ल्याउन सकेको छैन । नयाँ खुलेका रास्वपा, जपा लगायत स्वतन्त्र उम्मेदवारप्रति जनमत आकर्षित हुँदै गएको देखिन्छ । राजनीतिक विश्लेषकहरूले २०८४ को निर्वाचनमा माओवादी मात्र नभइ कांग्रेस र एमालेको हालत पनि किनै खराब हुने विश्लेषण गर्न थालेका छन् । माओवादीको जनमत खुम्चिएर २०४८ कै अवस्थामा पुग्ने उनीहरूको अनुमान छ ।

२०४६ को राजनीतिक परिवर्तनपछि २०४८ मा भएको आम निर्वाचनमा माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चाको नामबाट निर्वाचनमा भाग लिएको थियो । २०५ निर्वाचन क्षेत्रमध्ये माओवादीले ९ सिट जितेको थियो । माओवादीको जनमत ३ लाख ५१ हजार ९०४ रहेको थियो । कांग्रेसको एकल बहुमत अर्थात् ११० सिट आएको थियो । एमाले ६९ सिटसहित दोस्रो दल भएको थियो । राप्रपा थाप गटले ३ र चन्द गुटले १ सिट जितेको थियो । यसैगरी नेपाल सद्धभावना पार्टीले ६, नेकपा(प्रजातान्त्रिक)ले २ र नेकपाले २ सिट जितेको थियो । १ फागुन, २०५२ बाट भूमिगत सशक्त विद्रोह थालेको माओवादीले २०५६ को निर्वाचन बहिस्कार गर्यो । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सहमतिमार्फत् शान्तिपूर्ण राजनीतिमा आएको उसले २०६४ मा भएको संविधानसभा निर्वाचनमा २९ प्रतिशत मतसहित पहिलो दल हुन सफल भयो ।

यस्तो छ माओवादीको ओरालो यात्रा

२०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अप्रत्यासित रुपमा २३८ सिटसहित विद्रोही माओवादी पहिलो दल बन्न सफल भयो । सो निर्वाचनमा कुल खसेको सदर मतमध्ये माओवादीले समानुपातिकतर्फ ३१ लाख ४४ हजार २०४ अर्थात् २९.२८ प्रतिशत मत प्राप्त गरेको थियो ।

२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो । यहिबीचमा माओवादीबाट बैद्य समूह अलग्गियो । पार्टीबाट ठूलो समूह बाहिरिएपछि प्रचण्डलाई ठूलो धक्का लाग्यो । बैद्य समूहले निर्वाचन नै बहिस्कार गरी माओवादीलाई हराउन भूमिका खेल्यो । विभाजनकोबीच भएको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ २६ सिटमा खुम्चियो । समानुपातिकतर्फ ५४ सिट जित्यो । कुल खसेको सदर मतमध्ये माओवादीले १५.२१ अर्थात् १४ लाख ३९ हजार ७२६ मत पायो । चार वर्षको बीचमा माओवादीले १७ लाख ४ हजार ४७८ मत गुमायो ।

राजनीतिक खिचातानीकाबीच २०७२ साल असोज ३ गते संघीय गणतन्त्रको नयाँ संविधान जारी भयो । संविधान कार्यान्वयन गर्नका लागि २०७४ साल मंसिरमा पहिलो आम निर्वाचन भयो । निर्वाचनको मुखमा बैद्य माओवादीबाट रामबहादुर थापा बादलको नेतृत्वमा ठूलो समूह प्रचण्ड नेतृत्वको मओवादीमा विलय भयो । बादल समूहको आगमनले प्रचण्डलाई केही राहात मिल्यो ।

यो निर्वाचनमा ठूला वामपन्थी दल एमाले र माओवादी दलले ६०÷४० को भागबण्डा गर्दै निर्वाचनमा होमिए । वामपन्थी एकतालाई जनादेशले स्वीकार गर्दै संघमा झण्डै दुईतिहाइ र मधेश प्रदेशबाहेक ६ प्रदेशमा दुईतिहाइ मतसहित अनुमोदन गर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालले ८० र समानुपातिकतर्फ ४१ गरी जम्मा १२१ सिट जित्यो ।

माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपतिकतर्फ १७ गरी जम्मा ५३ सिट जित्यो । तर अघिल्लो निर्वाचनको तुलनामा माओवादीले कुल खसेको सदर मतमध्ये १३.६६ प्रतिशत अर्थात् १३ लाख ३ हजार ७२१ मत पायो ।

अत्याधिक जनमत पाएका ठूला वामपन्थी दल एमाले र माओवादीबीच २०७५ जेठ ३ मा पार्टी एकता भइ नेपाल कम्युनिस्ट पार्टी बन्यो ।
नेकपाका तत्कालीन अध्यक्ष ओली शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भए । ओली नेतृत्वको सरकाले आर्थिक समृद्धि र विकालले फड्को मार्नेमा आम नागरिक विश्वस्त थिए । तर ओली र प्रचण्डबीचको शक्ति संघर्षले ४१ महिनामै ओली सरकार ढल्यो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरियो । नेकपा विभाजनको असर एमालेमासमेत पर्यो । अन्ततः पार्टी विभाजन भयो ।

ओली विरुद्ध प्रचण्ड, माधव, शेरबहादुर देउवा, उपेन्द्र यादवसहित पाँच दलले मोर्चाबन्दी गरी चुनावी तयारी गरे । कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन बनाइ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ सिटमा खुम्चियो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ माओवादीले ११.१७ प्रतिशत अर्थात् ११ लाख ७५ हजार ६८४ मत प्राप्त गर्यो ।