NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोशीमा सत्ता खटपट : एकीकृत समाजवादीले दियो सहकार्य ताेड्ने चेतावनी

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पूर्वसहमति विपरीत मन्त्रिपरिषद् विस्तार गरेकोमा सत्ता साझेदार दल एकीकृतसमाजवादीले असन्तुष्टी जनाएको छ ।

संवैधानिक विवादकाबीच मुख्यमन्त्री बनेका थापाले आइतबार माओवादीका दुई र कांग्रेसका एक जनालाई दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा एसले असन्ुतष्टी जनाएको हो । थापाले शुक्रबार कोशी प्रदेशमा मन्त्री हुनेहरूमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् । कांग्रेसबाट रामकुमार खत्रीले अवसर पाए ।

यसअघि थापाले नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवारलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए । थापाले आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएपनि अन्य चार मन्त्रीलाई विनाविभागीय बनाएका छन् ।

मुख्यमन्त्रीले आफूहरूसँग सल्लाह नै नगरी पूर्वसहमती तोडेको एकीकृत समाजवादी संसदी दलका नेता राजेन्द्र राईले आरोप लगाएका छन् । उनकाअनुसार पहिलो चरणमा गठबन्धन दलहरूबाट एक÷एक जना मन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

‘पहिलो चरणमा सबै दलबाट एक÷एक जना मन्त्री नियुक्त गर्ने सहमति भएको थियो’, राईले भने, ‘तर मुख्यमन्त्रीज्यूले पूर्वसहमति तोड्नुभयो । यसमा हाम्रो आपत्ति छ । आगामी दिनमा यस्तो गल्ती नसच्चिए सहकार्य टुट्न सक्छ ।’

सभामुखलाई समेत जोडेर मुख्यमन्त्री नियुक्त भएपछि थापाविरूद्ध विपक्षी एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । थपा नेतृत्वको सरकार असंवैधानिक भएको जिकिर गर्दै दायर गरेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।