NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्री प्रचण्डको पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन भएको छ ।  उनको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्य स्थिति जटिल बनेपछि सीतालाई बुधबार बिहान ८ बजे नर्भिक अस्पताल पुर्याइएको थियो ।  तर केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरे । अस्पताल प्रशासनले ‘कार्डियक अरेष्ट’का कारण उनको निधन भएको जनाएको छ ।

सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी  (पिएसपी) रोगबाट पीडित थिइन् । दुर्लभ मानिने यो रोगका कारण उनी हिँड्डुल गर्नसमेत असमर्थ रहँदै आएकी थिइन् ।

दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

औपचारिक शिक्षा हासिल नगरेकी सीताले प्रचण्डलाई निकै नजिकबाट सघाएकी थिइन् । तत्कालीन नेकपा माओवादीले ०५२ सालबाट सुरु गरेको सशस्त्र संघर्षमा उनी श्रीमान्सँगै भूमिगत बनेकी थिइन् । प्रचण्डले आफ्नो राजनीतिक करिअरले उचाइ लिनुको पछाडि पत्नी सीताको हात रहेको विभिन्न सन्दर्भहरूमा स्मरण गर्दै आएका छन् ।

श्रीमान् राजनीतिमा हेलिएपछि अनेक कठिनाइ र भुक्तमान झेलेकी उनले शान्ति प्रक्रिया सुरुपछि एकपछि अर्को सन्तान वियोगको पीडा खेपेकी थिइन् । २०७० मा छोरी ज्ञानु दाहालको निधन भएको केही वर्षपछि  उनले एक मात्र छोरा प्रकाशलाई गुमाइन् ।