NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्री प्रचण्डलाई शोकैशोक

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकपछि अर्को पारिवारिक शोक परेको छ । राज्यसत्ताविरूद्ध १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि राज्य भोक त मिल्यो तर पारिवारिक सुख मिल्न सकेन ।

६८ वर्षको उमेर पार गरेका प्रचण्डले बुधबार बिहान पत्नी सीता दाहाललाई गुमाएका छन् । लामो समय नसासम्बन्धी गम्भीर रोगबाट पीडित रहेकी दाहाल ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे थियाे । एकमात्र पुत्र प्रकाशको निधनले विक्षिप्त भएकी दाहाललाई विश्वमा बिरलै देखिने पार्किन्सन रोगले थलिएकी थिइन् ।

उनको उपचारका लागि प्रचण्डले भारत, थाइल्याण्ड, सिंगापुर, अमेरिका लगायत धेरै ठाउँमा लगेका थिए । तर चिकित्सकले दाहालको रोग निको नहुने बताएपछि उनको उपचार नेपालमै हुँदै आएको थियो । सानै उमेरमा विवाह बन्धनमा बाँधिएका प्रचण्डले २६ बैशाख, २०७६ मा विवाहको ५० औं वर्षगाँठ धुमधामसँग मनाएका थिए । माओवादी जनयुद्धमा प्रचण्डसँगै विताएका दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टी निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

पुत्री वियोग

पत्नी वियोगले आहत भएका प्रचण्डले १३ चैत, २०७० मा जेठी छोरी ज्ञानुलाई गुमाएका थिए । लामो समय क्यान्सरबाट पीडित रहेकी ज्ञानुको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालनमा निधन भएको थियो । ज्ञानुको उपचारका लागि उनले मुम्बई, दिल्ली र अमेरिकामासम्म लगेका थिए । प्रचण्ड आफ्नो पारिवारिक वियोगमा कति विक्षिप्त छन् भन्ने कुरा सोमबार संसदमा दिएको भावुक अभिव्यक्तिबाट मापन गर्न सकिन्छ । छोरी ज्ञानुको उपचारमा भारतीय नागरिक सरदार प्रितम सिंहले देखाएको सदासयताले भावनामा बहकिएका प्रचण्डले दिएको विवादास्पद अभिव्यक्ति झण्डै प्रधानमन्त्रीको पदसमेत गुमेको थियो । अर्जुन केसीसँग विवाह गरेकी ज्ञानुको २ छोरी छन् ।

पुत्र वियोग

जेठी छोरी गुमाएको ४ वर्षपछि प्रचण्डलाई अर्को बज्र्रपात पर्यो । २०७४ को निर्वाचनको तयारीमा रहेकाबेला एकमात्र छोरा प्रकाशको निधन भयो । ३ मंसिर, २०७४ मा लाजिम्पाटस्थित निवासमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनले मर्माहित भएका प्रचण्ड परिवारले लाजिम्पाट निवास नै छाडेर खुमलटार बसाईसरेका थिए ।

सानै उमेरमा बुवासँगै माओवादी भूमिगत युद्धमा सक्रिय रहेका प्रकाश प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । उनी बुबाको स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका थिए । उनका दुई श्रीमती र दुई छोरा छन् । छोरा–छोरीको वियोगमा निकै विक्षिप्त भएका प्रचण्ड पत्नी दाहाले पनि साथ छोडेपछि जीवनको उत्तरार्धमा पारिवारिक शोकैशोकको सामना गर्नुपरेको छ । तीन छोरी र एक छोराका पिता रहेका प्रचण्डका अब रेनु र गंगा छोरीमात्र छन् । रेनु चितवनको भरतपुर महानगरपालिकाका मेयर छिन् । कान्छी छोरी गंगा प्रधानमन्त्रीको स्वकीय सचिव छिन् । शान्ति प्रक्रियामा आएपछि तीनपटक प्रधानमन्त्री भएका प्रचण्डले पारिवारिक सुख भने पाउन सकेनन् ।