NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

७ किलोमिटर बाटो बनाउन ११ जना मिलेर २२ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबडीसम्म ७ किलोमिटर बाटो बनाउन उनीहरूले २२ लाख ९ हजार ८२६ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

उक्त सडक निर्माणका लागि गाउँपालिकाको बजेटसँगै स्थानीय जनतासँग पनि रकम उठाइएको थियो ।

सडक नै नबनाई उक्त रकम हिनामिना गरेकोबारे उजुरीमाथि छानविन हुँदा  तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सब इन्जिनियर विज्ञान चम्लागाईंले नगरेको कामको परिणाम कार्य भएको भनी झुटो बिलका आधारमा कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुब्बा(राई) ले झुटो बिल पेश गरी गाउँपालिकाबाट २२ लाख ९ हजार ८२३ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

गाउँपालिका अध्यक्ष साहले भने भएको कामभन्दा बढी रकम भुक्तानी दिन सिफारिस गरेको पाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुन्ती देवी बुढाथोकीले पनि सो कामबारे अनुगमनन नै नगरी भुक्तानी सिफारिस गरेकोे पाइयो ।

अनुगमन समितिमा रहेका गाउँपालिका वडा नं ६ का तत्कालिन वडाध्यक्ष हरिबहादुर बानिया र वडा नं ७ का तत्कालिन वडाध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं ३ का तत्कालिन वडाध्यक्ष मोति लाल गणेशले पनि नभएको काममा भुक्तानी सिफारिस गरेका छन् ।

उनीहरू ११ जनालाई प्रतिवादी बनाएर आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी सबैलाई कैद र जरिवाना मागदाबीको सजाय माग गरिएको छ ।