NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नक्कली शरणार्थी प्रकरण : तनावमा देउवा, खाँण निलम्बनबारे पदाधिकारी नै बोल्न चाहँदैनन्

काठमाडौं । विभिन्न बाहनामा केन्द्रीय सतिति बैठक छल्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षपछि बैठक बोलाउन बाध्य भएका छन् ।

महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापासँगको पराशर्मपछि देउवाले असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधन भएपछि साउन २ गते बैठक सारिएको छ । बैठक बस्नुअघि एजेन्डा तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग परामर्श गरेका छन् । केन्द्रीय समिति एजेन्डा अहिलेसम्म तय नभएकाे एक पदाधिकारीले जानकारी दिए ।

अस्तब्यस्त कांग्रेस, तनावमा देउवा

वर्तमान नेतृत्वबाट कांग्रेस अगाडि बढ्न नसक्ने भन्दै तेस्रो पुस्ताका नेताहरूले देशभर पार्टी रूपान्तरणको अभियान नै चलाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नै धमिल्याउने बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद छ । बालुवाटारको सरकारी जग्गा ललिता निवासप्रकरणमा पनि कांग्रेसको आधिकारीक धारणा आएको छैन । विधान अनुसार २/२ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक बस्न सकेको छैन । वर्षौंसम्म भातृ संस्थाहरूको अधिवेशन हुन सकेको छैन । महाधिवेशन भएको २ वर्ष वितिक्दासमेत विभागहरू गठन भएका छैनन् । क्रियाशिल सदस्यता वितरण तथा नमिवकरणमा विवादै विवाद रहेको छ । संगठन सिथिल रहेको छ । राष्ट्रिय राजनीतिमा कांग्रेस निरिह देखिएको छ । यी सबै विषयमा आफूमाथि विरोध हुनसक्ने भयका कारण देउवाले बैठक छल्दै आएको संस्थापन संस्थापन इतरका एक नेताले बताएका छन् ।

‘कांग्रेस इतिहासमै निकै कमजोर र सिथिल देखिएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वले कुनै अडान लिन सकेको छैन । वर्षौंदेखि विभाग र भातृ संगठन लथालिङ्ग छ । भ्रष्टाचारमा कांग्रेसकै नेता मुछिएका छन् । अभियोग लागेर पुर्पक्षका लागि जोल चलान भइसक्दासमेत नेतृत्व कारवाहीको विपक्षमा देखिएका छन् । वर्तमान नेतृत्वले अब कांग्रेस चल्न सक्दैन । केन्द्रदेखि तल्लो तहसम्म रूपान्तरण आवश्यक छ’, ती नेताले भने ।

मूल नेतृत्वको कार्यशैलीलाई लिएर महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापासमेत असन्तुष्ट छन् । नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएका नेताहरूलाई निलम्बन गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेपनि त्यसलाई देउवाले छलफलको एजेण्डा बनाउन नचाहेको आरोप छ । महामन्त्रीसँगको छलफलमा देउवाले खाँणको विषय अदालतको कार्यक्षेत्रभित्र परिसकेकाले बैठकमा छलफल हुन नसक्ने अडान लिएका छन् । देउवाको अडानमा असन्तुष्टि जनाउँदै उपसभापति धनराज गुरुङ, महामन्त्री द्वयले सबै विषयमा छलफल गर्न विधान बाधन नभएको सचेत गराउँदै नक्कली शरणार्थी र ललिता निवास प्रकण केन्द्रीय समितिको एजेन्डा बनाउनुपर्ने अडान लिएका छन् । तर महामन्त्रीसहित संस्थापन इतरको अडानमा देउवा पक्ष सहमत छैनन् । अदालतबाट अन्तिम फैसला नआएसम्म खाँणलाई निलम्बन गर्न नहुने पक्षमा देउवा देखिएका छन् । यसैगरी प्रदेश र संघको निर्वाचन सकिएको ७ महिना बितिसक्दासमेत चुनावी समीक्षा हुन नसकेकोमा नेतृत्वको आलोचना गरेका छन् । अर्ली महाधिवेशन र नीति अधिवेशनबाट संगठानात्मक कमजोरी तथा नीति, सिद्धान्तबारे निर्णय लिनुपर्ने अडानमा महामन्त्री द्वय देखिएका छन् । यद्दपि एजेन्डामा दर्ज गर्न उनीहरूले प्रयास जारी राखेका छन् ।

खाँण निलम्बनबारे पदाधिकारी नै बोल्न चाहँदैनन्

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्नामा तत्काली उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री खाँणसहित सम्पूर्ण राज्य प्रशासन नै संलग्न रहेको आशंकामा प्रहरीले ३० जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ । तीमध्ये रायमाझी, खाँणसहित १६ जनालाई अदालतले पुर्पपक्षका लागि जेल पठाएको छ । अन्तर्राष्ट्रिय जगतमै देशको बदनाम भएको उक्त प्रकरणका अभियुक्त खाँणलाई कांग्रेसले केन्द्रीय सदस्यबाट निलम्बन नगरेकोमा चौतर्फी आलोचना भइरहेको छ । यस्तै आलोचना खेपेको एमालेले सचिव रायमाझीलाई निलम्बन गरिसकेको छ ।

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बोलाइएका पदाधिकारीहरू नै खाँणको निलम्बनबारे बोल्न आनाकानी गरेका छन् । १४ जना पदाधिकारीमध्ये रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् । उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय खाँणलाई निलम्बन गर्नुपर्ने अडानमा कायमै रहेपनि एजेण्डा राख्न सफल भएका छैनन् । सहमहामन्त्री द्वय बद्री पाण्डे र जीवन परियारपनि निलम्बनको पक्षमा छन् । बाँकी सबै पदाधिकारी देउवा समूहका भएकाले निलम्बनको विपक्षमा छन् । ८ जना सहमहामन्त्रीमध्ये ६ जनालाई खाँणको निलम्बन आवश्यक छ कि छैन भन्ने विषयमा बोल्न चाहेनन् । तीमध्ये परियारले आफू पदाधिकारी बैठकमै सहभागी नभएकाले निलम्बनको पक्षमा आफूले केही धारणा नबनाएको बताए ।

‘म पदाधिकारीको बैठकमा सहभागी भएको छैन । काम विशेषले काठमाडौं बाहिर भएकाले केन्द्रीय समिति बैठकमै आफ्नो धारणा राख्छु । एजेण्डको विषयमा पनि आफूलाई केही थाहा छैन’, परियारले भने ।

यसैगरी फरमुल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादवले खाँणलाई निलम्बन गर्ने÷नगर्ने विषयमा आफूलाई केही थाहा नभएको भन्दै पन्छिए ।

‘केन्द्रीय समिति बैठक साउन २ गते बस्दै छ । त्यहि कुन विषयमा छलफल गर्ने वा नगर्नेबारे धारण बन्नेछ । समितिको निर्णयअघि अहिले नै बोल्न मिल्दैन’, सहमहामन्त्रीहरूले जवाफ दिए ।

निलम्बनबारे एजेन्डा नबनेपनि बैठकमा उठाउँछौं

तर कांग्रेस रूपान्तरणको अभियानसहित देशभर दौडिएका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समितिको एजेन्डाबारे पदाधिकारीमा छलफल भइरहेकाले केन्द्रीय समिति बैठकमा नेतृत्वको कार्यशैली, नक्कली शरणार्थी, ललिता निवास प्रकरण लगायत सबै विषयमा गम्भीर रूपले उठाउने बताए । पदाधिकारी बैठकले भ्रष्टाचार प्रकरणमा मुछिएका खाँण लगाय नेताहरूको विषयमा एजेन्डा नबनाएपनि केन्द्रीय समितिको एजेन्डा बन्ने जिकिर गरे ।

‘औपचारिक रूपमा एजेन्डा आयो भने यसै छलफलमा जान्छ । आएन भने पनि यो विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ । केन्द्रीय समिति आफैमा सार्वभौम समिति हो । महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली समिति केन्द्रीय समिति हो । बैठक बस्दा पछिल्लो समय जुनजुन घटनाक्रम विकसित भएको ती सबै छलफलका विषय बन्छन् । पार्टीभित्र छलफलमा ह्वीप लगाउने भन्ने हुँदैन । यदि छेकबार लगाउन खोजिए त्यसलाई अबज्ञा गरिन्छ’, आचार्यले भने ।

अहिलेको केन्द्रीय समिति बैठक नीति महाधिवेशन र महाधिवेशनको विषयमा निष्कर्षमा नपुगे विधानको अधिकार प्रयोग गरेर विशेष महाधिवशेन बोलाउन बाध्य हुने चेतावनी दिए । कांग्रेसलाई पुरानै लय वा झनै शक्तिशाली बनाउन सत्ता कांग्रेस नेता तथा कार्यकता चासोको विषय भएको उनले बताए । कांग्रेस रूपान्तरण अभियानबाट देशभरका नेता तथा कार्यकर्ता उत्साहित रहेको जिकिर गर्दै यो अभियानमा महामन्त्री र कोइराला समूहको पनि समर्थन रहने बताए ।

‘अहिलेको नेतृत्वबाट कांग्रेस चल्न सक्दैन । हामी छिट्टै नीति महाधिवेशन वा विशेष महाधिशेनमा जानुको विकल्प छैन’, उनले भने, ‘यस विषयमा केन्द्रीय समितिले निर्णय गर्छ, गर्नैपर्छ । यदि नेतृत्वले मानेन् भने विधानअनुसार विशेष महाधिवेशनमा जान हामी बाध्य हुनेछौं । हाम्रो अभियानमा महामन्त्रीज्यू र शेखर दाइहरूको समेत समर्थन रहनेछ । उहाँहरूसँग हामी छलफलमै छौं ।’

पार्टीभित्र र बाहिर चौतर्फी आलोचना हुँदासमेत खाँणलाई निलम्बन गर्न देउवाले आनाकानी गर्नुलाई धेरैले आश्चर्य मानेका छन् । लामो समय देउवा समूहमा रहेर सत्ता र शक्तिको दुरूपयोग गरेका खाँणलाई कारवाही पर्दा आफू अप्ठ्यारोमा पर्ने डरले निलम्बन गर्नबाट देउवा पन्छिएको इतर पक्षको आरोप छ । अब पनि कांग्रेस रूपान्तर नभए वा भ्रष्ट नेताहरूलाई जोगाउने खेलमा रहे पार्टी दुर्घटनामा पर्ने उनीहरूको चेतावनी छ ।

ताजा अपडेट

नेपालवाच विशेष