NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीको दाबी– पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छु जस्तो लागेको थिएन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार २८ वर्ष अघिको हेलिकप्टर दुर्घटनासम्बन्धी भिडियो शेयर गरे । केपी बा’ नामको आफ्नो ‘यु ट्युब’ च्यानलमा अप्लोड गरिएको उक्त भिडियो सस्क्राइब गर्न आग्रह गरे ।

फेसबुक क्याप्सनमा उनले पाँच हजारमाथि उडेको हेलिकप्टरबाट झर्दा आफू बाँच्छु जस्तै नलागेको प्रसंग उल्लेख गरेका छन् । नजिकबाट मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भएको प्रशंग कोट्याएका छन् । तीन घण्टाको अवधिमा ओलीको भिडियोलाई ५ हजार ४ सयले लाइक गरेका छन् । एक हजार २ सयले कमेन्ट र ८४ जनाले उक्त भिडियो शेयर गरेका छन् । भिडियोमाथि धेरैले हावादारी गफ भएको प्रतिक्रिया दिएका छन् । कतिपयले ओली बहुआयमी व्यक्तित्वको धनी भएको टिप्पणी गरेका छन् ।

११ फागुन, २००८ मा पूर्वी नेपालको तेह्रथुममा जन्मिएका ओली गत फागुनमा ७२ जन्मदिनको अवसरमा उनले हेलिकप्टर दुर्घटनासम्बन्धी प्रसंग उठाएका थिए । तर, भिडियोमा उनले दुर्घटनाबारे विस्तृत जानकारी खुलाएका छैनन् । ओलीले भनिएको दुर्घटना २९ साउन, ०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकप्टर दूर्घटना हो । अबिरल वर्षापछि आएको बाढीका कारण मध्यपश्चिम डुबानमा परेको थियो । बढी प्रभावित क्षेत्रको निरिक्षणका लागि उडेको प्रधानमन्त्री सवार सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । तत्कालीन गृहमन्त्री रहेका ओली अधिकारीसँगै निरिक्षणमा निस्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

ओलीको दाबी कक्तिको सत्य हो भन्ने विषयमा एमाले प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले केही बोल्न चाहेनन् । अधिकारी सवार दूर्घटनाको प्रशंग ओलीले निकालेको उनले जानकारी दिए ।

‘त्यतिबेलाको दूर्घटनाको रेकर्ड अहिले पनि गृहमन्त्रालयमा छन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीज्यू बाढी पहिरो निरिक्षणका लागि नेपालगन्ज जानुभएको थियो । उहाँसँग तत्कालीन गृहमन्त्री रहेका ओलीज्यू लगाएत उच्च अधिकारीहरू सवार थिए । त्यहि प्रशंग अध्यक्षज्यूले निकाल्नु भएको हो’, उनले भने ।

यस्तो छ सामाजिक सञ्जालमा ओलीले राखेको भिडियो क्याप्सन

पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ साल साउन २९ गते नेपालगन्ज नजिकै शमशेरगन्ज नजिकै दुर्घटना भएकोमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’, उनले उल्लेख गरेका छन् ।

जन्मदिनको दिन ओलीले यसरी सम्झिए दूर्घटना

इन्जिनको खराबीले ५ हजार मिटरमाथि उचाइबाट झर्दाको अनुभव मैले गरेको छु । झरिन्जेल अब बाँचिएन भन्ने नै थियो । मृत्युृले मलाई जित्ने भयो भन्ने भय मनमा थियो । झरिसकेपछि जिउँदै रहेको आफूलाई पाउँदा निकै हर्षित भएँ । हात खुट्टा हेर्न मन लाग्यो । सबै सध्ये देख्दा एक खालको आश्चर्य लाग्यो । नजिकका सबै साथी भाइलाई हेरें । साधारण हड्डि फ्याक्चरबाहेक कोही पनि मरेका रहेनछन् । त्यो अवधिमा मृत्यु झन् झन् नजिक आइराखेको मैले देखेँ । सेकेन्ड सेकेन्डमा मृत्यु घुमिरहेको थियो तर उडिरहेको हेलिकप्टर भएकाले तल झर्न ११ सेकेन्ड लाग्यो । हेलिकप्टर भित्र रहँदासमेत पनि आगो लाग्न सक्छ वा पड्किन सक्छ भन्ने कुरा भइरहेको थियो । भुइँमा खस्दा हेलिकप्टेर कोल्टो परेको थियो । ढोका माथि फर्केको थियो । घाइते माथिको ढोकाबाट बाहिरिनु त्यति सजिलो थिएन । म सध्ये छु कि मृत्यु भइसकें भन्ने थाहा नहुने अवस्थामा थियो । बाहिर निस्किसकेपछि हामी ढुक्क भयौं । मृत्युले थप्पड हानेको थियो । कसै कसैलाई घाउचोट लागेको थियो । कसैको करङ भाँचिएको थियो । मृत्युले झिलिक्क आक्रमण गरेर भाग्यो ।

विभिन्न बिम्भ र टुक्का प्रयोग गरी कलात्मक अभिव्यक्ति दिन ओली माहिर मानिन्छन् । व्याङ्ग्य रस प्रयोग गरी विपक्षीमाथि कडा रूपमा प्रस्तुन हुने ओलीको पुरानै आदत हो । पूर्वीय दर्शन, शास्त्रीय ज्ञान, इतिहास, कला, विज्ञान, दर्शनबारे आफूलाई राम्रो जानाकार भएको उनी जिकिर गर्छन् । झुटलाई पनि सत्य जस्तो गरी अभिव्यक्ति दिन सक्ने खुबी उनको नानीदेखिकै बानी भएको उनकै बुवाले खुलाई सकेका छन् । ओलीका आलोचकहरूले उनलाई उडन्ते, उट्पट्याङ्ग, क्रोधी, दम्भी, अनुदार, असहिष्णु नेता भएको आरोप लगागाउँछन् । आफूलाई बिनासर्त समर्थन गर्ने व्यक्ति जस्तोसुकै खराब भएपनि बचाउ गर्ने र विपक्षमा लाग्ने जतिसुकै राम्रो भएपनि आलोचना सहन नसक्ने नेताका रूपमा चित्रण गर्छन् ।

तर उनलाई नजिकबाट संगत गरेका, बुझेका र चिनेजानेकाहरू ओली निकै दयालु, मनकारी, त्यागी र सबैलाई समान व्यवहार गर्ने बहुआयमिक व्यक्तित्वको धनी भएको बताउँछन् ।

किशोर अवस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका ओली २०२८ सालमा भएको झापा विद्रोहका एक चर्चित राजनीतिज्ञ हुन् । व्यक्ति हत्याको अभियोगमा पञ्चायती शासकले २०३२ सालमा रौतहटबाट पक्राउ गरी कठोर सँझाय दिएको थियो । १४ वर्ष कठिन जेल जीवन विताएका उनी २०४६ को राजनीति परिवर्तनपछि खुला राजनीतिमा आएका थिए । त्यसपछि एमालेमा सक्रिय रहेका उनी उपप्रधानमन्त्री हुँदै तीन पटक देशको प्रधानमन्त्री बन्न सफल भए । पार्टीको विभिन्न जिम्मेवारी पुरा गर्दै दाेर्स्राे पटक एमालेकाे अध्यक्षमा निर्वाचित भएका छन् ।