NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

त्रिभुवन विमानस्थलका अधिकृतः कोही लेनदेनमा व्यस्त, कोही केटी जिस्क्याउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपराध र भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

सुन तस्कार, लागू औषध ओसारपसारदेखि मानव तस्करसम्मका अपराधहरु विमानस्थलबाट खुलेआम भइरहेका छन् । त्यसमा पनि गृह मन्त्रालयले खटाएको अध्यागमनका अधिकृतहरुको नेतृत्वमा त्यस्ता अपराधका घटना मौलाएका छन् ।

एक महिनाअघि त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक नो–अब्जेक्सन लेटरविना त्रिभुवन विमानस्थलबाट युएई गए । हिमालयन एयरलाइन्स हुँदै युएई पुगेका ती भारतीय नागरिक भारतमा अपराध गरेर नेपालमा लुक्दै आएका थिए ।

उनी नेपालबाटै भारतभन्दा बाहिरको मुलुक जान चाहन्थे । त्यसका लागि उनले कुल ८ लाख भारतीय रुपैयाँ खर्च गरेकोमा एकजना अधिकृतले ५ लाख भारतीय रुपैयाँ लिएर उनलाई गैरकानूनी रुपमा युएई पठाए ।

उक्त अपराधमा संलग्नताको आरोपमा हाल राष्ट्रिय अनुसन्धानका एक अधिकृतमाथि अनुसन्धान भइरहेको छ । तर रकम लिएर युएई उडान गराउने कर्मचारीमाथि भने कुनै कारबाही भएको छैन ।

नेपालवाचको सम्पर्कमा आएका रकम असुल्ने अफिसरले भने पैसा लिएर उडान गराएको विषय स्वीकार गरेका छैनन् । उनी भन्छन्, ‘ती व्यक्ति मेरै डेस्कबाट गएका हुन् । उनको नाम इन्टरपोलमा थिएन । कुनै कालोसूचीमा थिएन । र उसँग युएईको भिषा पनि थियो र नोअब्जेक्सन लेटर पनि थियो ।’ त्यस्तो व्यक्तिलाई उडान अनुमति दिनु कुनै गल्ति नहुने उनको जिकिर छ ।

सबै विवरण र डकुमेन्ट थियो भने ती भारतीय नागरिक नेपाल हुँदै युएई नै किन जान चाहन्थे ? त्यसका लागि किन ती अधिकृतसामु ५ लाख भारतीय रुपैयाँको प्रस्ताव पुग्थ्यो ? त्यसबारे अधिकृतसँग स्पष्ट जवाफ छैन । ती भारतीय नागरिकले एनओसी लेटर पेश गरेको तर त्यो नक्कली हो भन्ने थाहा नभएको आरोपित अधिकृतको दाबी छ ।

लोभी भान्छे बन्न खोज्दा गुम्यो विस्वास

विमानस्थलस्थित अद्यागमनमा कतिसम्म हुन्छ भने, केहि अफिसरहरुको मुख्य जिम्मेवारी नै रकम संकलन तोकिएको हुन्छ । औपचारिक होईन, अनौपचारिक । विशेषगरी अध्यागमन विभागका महानिर्देशकका नजिकका अधिकृतहरु यसका लागि खटिएका हुन्छन् ।
त्यसैमध्येका एक अधिकृतले संकलन गरिएको त्यस्ता अवैध रकम आफ्नो भागमा धेरै राखेर अन्यलाई कम बाँडेपछि विक्षिप्त बने । जसकारण उनी विमानस्थलबाटै सरुवा भएका छन् ।

त्यसअघि गृह मन्त्रालयमा कार्यरत उनी अब उपत्यका बाहिरको कार्यालयमा सरुवा भएर गएका छन् । तर उनले पनि आफूले विमानस्थल अद्यागमन कार्यालयमा हुँदा अनियमितता गरेको विषयमा असहमति राखे ।

बरु आफुले विमानस्थल अध्यागमनलाई कसरी सुधार गर्ने भनेर बुँदागत सुझाव दिएर निस्किएको बताउँछन् । ‘त्यहाँ भिडभाड छ । सिस्टममा समस्या छ । त्यसलाई कसरी सुधार गर्ने भनेर सुझाव पत्र दिएर निस्किएको हुँ,’ ती अधिकृतले भने, ‘मबाट अनियमिताको नेतृत्व हुन सक्दैन ।’
अध्यागमनका अधिकारीहरु भने अद्यागमन विभागका महानिर्देशकलाई असुलीको हिसाब बुझाउनेमध्ये ती अधिकृत एक प्रमुख पात्र रहेको बताउँछन् ।

महानिर्देशक झलकराम अधिकारीलाई चित्त बुझाउन नसकेपछि उनले विमानस्थल नै छोड्नु परेको छ । उनको बर्हिगमनसँगै अधिकारीको रोजाईमा माओवादी निकटका कर्मचारीहरु खटिएका छन् ।

डेस्कमा बसेर केटी जिस्क्याउँदा लफडा

तपाईलाई अनौठो लाग्न सक्छ, नेपाल सरकारका अधिकृतले यस्तोसम्म गर्लान् भनेर । तर यस्तै भएको छ । जसकारण एक अधिकृत विभागमा तानिएका छन् ।

गत विहीबार एक महिला बोर्डिङ पास लिएर त्रिभसवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पुगिन् । युएई जाँदै गरेकी ती युवतीसँग बैंक स्टेटमेन्ट थिएन । उनलाई लाइनमा राखेर लामो समयसम्म जिस्क्याउने ती अधिकृतकाअनुसार उनको नामसँग मिल्ने नाम कालोसूचीमा थियो । राहदानी नम्बर पनि कालोसूचीमा रहेकासँग मिल्दोजुल्दो थियो ।

त्यही कारण देखाएर अधिकृतले ती महिलालाई २५ मिनेटसम्म आफ्नो अघि उभ्याए, र जिस्क्याइरहे ।

उनी भिजिट भिषामा युएई जाँदै थिइन् । त्यसपछि ड्युटी अफिसरलाई भेटाएर ट्राभल हिस्ट्री हेरेर पठाएको ती अधिकृतको दाबी छ । ‘प्रक्रिया लागेको हो, जिस्क्याएको होईन । भिजिट भिषामा जानेहरुमा विशेषगरी महिलाको हकमा बढि ध्यान दिनुपर्ने हुन्छ,’ ती अधिकृतले भने, ‘भिजिट भिषामा जाने र उतै काम गरेर बस्दा पछि दुःख पाउलान् भनेर धेरै सोधपुछ हुन्छ । गएपछि फर्किएर आउँदैनन् की भन्ने शंका लाग्यो भने शोधपुछ अलि बढि हुन्छ । यो स्वभाविक हो।’

उनका अनुसार ती महिलाको सवालमा भ्रमण इतिहास थियो । तर डकुमेन्ट थिएन । त्यहीकारण थोरै समय लाग्यो । तर त्यसलाई गलत तरिकाले बुझ्दा अप्ठ्यारोमा परेको उनको गुनासो छ ।