NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रधानमन्त्री प्रचण्डले भने ‘असारे विकासको प्रवृत्ति त्याग्नैपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै उनले आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताए ।

प्रधानमन्त्री दाहालले बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्ने बताए । उनले समयमै निर्माणको थालनी नहुने अवस्थाको समाधानका लागि कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिमा सहजीकरण गर्न सरकार तत्पर रहेको बताए।

उनले भने, ‘विकासमा प्रत्यक्ष संलग्न इञ्जिनियरले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमा नै सुरु गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने विश्वास गरेको छु ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको बताए ।