NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक आज बुधबारबाट सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए । बैठकको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

केन्द्रीय कमिटी बैठकअघि माओवादीले बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पाँच दिनसम्म चल्ने बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने भनिएपनि त्यसबारेमा अहिले बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने महासचिव गुरुङले बताए ।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ।

माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म समय दिने माओवादी केन्द्रले जनाएको छ ।