NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ट्रम्पमाथि लाग्यो २० वर्षसम्मको जेल सजाय हुने आरोप, के हो तेस्रो पटक दर्ता भएको अभियोग?

काठमाडौं। अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आपराधिक अभियोग दर्ता भएको छ ।

अमेरिकी संसद क्यापिटल हिलमा तोडफोड भएको मामिलामा ट्रम्पमाथि आपराधिक अभियोग दर्ता भएको हो । उनलाई सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको मतपरिणाम उल्ट्याउने खेलमा लागिपरेको अभियोग लागेको हो ।

यससँगै पाँच महिनाको अन्तरालमा ट्रम्पमाथि तेस्रोपटक आपराधिक मुद्दा लागेको छ । उनीविरुद्ध राज्यलाई धोका दिने षड्यन्त्र रचेको, साक्षीलाई प्रभावित पारेको र नागरिक अधिकारविरुद्ध रणनीति बनाएको आरोप लगाइएको छ ।

तर राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिन लागेका ७७ वर्षीय ट्रम्पले गलत कार्य गरेको आरोप भने अस्वीकार गरेका छन् । निर्वाचनसम्बन्धी अनुसन्धान उनको पराजय र वाशिङ्टन डीसीमा भएको दङ्गाबीचको दुई महिनाको अवधिमा ट्रम्पले गरेका कार्यहरूमा केन्द्रित छ ।

त्यतिबेला डेमोक्र्याटिक पार्टीबाट निर्वाचित राष्ट्रपति जो बाइडनको जितलाई सांसदहरूले प्रमाणीकरण गरेपछि ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गरेका थिए ।
यस मामिलामा सुनुवाइका लागि ट्रम्प अगस्ट ३ मा वासिङ्टनको फेडेरल कोर्ट हाउसमा पेस हुनेछन् । अमेरिकी चुनावको नतिजा प्रभावित गर्न ट्रम्पले भूमिका खेलेको आरोपलाई अमेरिकी न्याय विभागले अनुसन्धान गरिरहेको छ ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले ४५ पृष्ठको आरोपपत्र दायर गरेका छन् । ट्रम्पले देशलाई धोखा दिएको पुष्टि भए ट्रम्प २० वर्ष र अमेरिकी नागरिकको अधिकार प्रभावित गर्न खाजेको विषयमा ट्रम्पलाई १० वर्षको जेल सजाय हुन सक्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष