NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादी बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । लामो समयपछि गत बुधबारबाट माओवादी केन्द्रीय समिति बैठक सुरु भएको थियो ।

जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि यथावत् रहने नेताहरूले बताएका छन् । मंसिररमा हुने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीलाई माओवादीले आफ्नो बैठकको मूल एजेण्डा बनाएको छ ।

केन्द्रीय सदस्यहरूले पार्टीले तय गरेको एजेण्डा र विविध विषयमा आफ्ना भनाइ राखिरहेका छन् । यसरी धारणा राख्नेमध्ये कतिपयले  नेतृत्वको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले परिवारवादमा लिप्त भएर पार्टी र संगठनलाई कमजोर बनाएको उनीहरूको आरोप छ ।

जारी बैठकमा ३८५ केन्द्रीय समिति सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय आयोगका ७५ र प्रदेश पदाधिकारीबाट १०० गरी कुल ७५८ जनाको सहभागिता छ ।

केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम केही चल्ने देखिएको छ । केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि पार्टी अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिनेछन् ।