NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वर्षमान पुनले भने : उत्तराधिकारी तयार गरेर जाऔँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताए ।

‘भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।’

पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको बताउँदै उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । उनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पारे।

‘अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ’, उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु ।’ बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उनले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराए ।