NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पार्टी भित्र आत्मालोचना गर्ने पद्धतिको विकास गरौँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो गरे ।

पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।’

उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिए । ‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने ।

पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उनले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताए ।