NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

जेलमा इमरानले पाउन सक्छन् यी सुविधा

काठमाडौं । पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट गिरफ्तार गरी तोशाखानामा तीन वर्षको जेल सजाय सुनाइएपछि पञ्जाब प्रान्तको सीमावर्ती जिल्ला अटकको जेलमा पठाइएको छ।

इमरान खानलाई पक्राउ गरेपछि पहिले हेलिकोप्टरको सहायताले इस्लामावाद ल्याएको खबर आए पनि पछि प्रहरीले उनलाई सडक मार्ग हुँदै इस्लामावाद ल्याएको थियो जहाँबाट उनलाई मेडिकल जाँचपछि अटक जेल लगियो ।

पञ्जाबको जेल विभागका एक अधिकारीले पिटिआई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा सरुवा गरेपछि सामान्य नियमअनुसार उनको गिरफ्तारी वारेन्ट जाँच गरिने बिबिसी उर्दूलाई बताएका छन् ।

यसपछि उनको कुनै पुरानो मेडिकल रेकर्ड वा रिपोर्ट छ भने त्यसको जाँच गरिनेछ, त्यसपछि जेलमै उनको नयाँ मेडिकल टेस्ट हुनेछ ।

कारागार नियमावली अनुसार ‘क’ वर्गका कैदीबन्दीलाई बस्नका लागि दुई कोठा दिइएको छ ।

ओछ्यान, एयर कन्डिसन, फ्रिज र टिभीबाहेक कैदीका लागि छुट्टै भान्साको व्यवस्था गरिएको छ ।

‘क’ वर्गका कैदीलाई जेलको खाना नखाई आफैं बनाउने सुविधा पनि छ ।

यसबाहेक ‘क’ वर्गमा बस्ने कैदीलाई दुई जना कैदी कर्मचारी पनि दिइन्छ ।

‘क’ वर्गमा राखिएका कैदीले घरबाटै खाना ल्याउनुपर्ने भए त्यसअघि सरकारको स्वीकृति लिनुपर्ने जेल अधिकारी बताउँछन् ।

जेल बसेकालाई आफन्त वा नजिकका साथीभाइ वा वकिलले हप्ताको एक दिन भेट गर्न सक्ने नियम छ । तर सरकारको स्वीकृति लिएर थप समय पनि भेट गर्न सकिन्छ ।

कारागार अधिकारीका अनुसार कैदीले चाहेमा दुवै कामदार उनीसँगै बस्न सक्छन् ।

कारागारको नियमअनुसार ‘ख’ वर्गका कैदीबन्दीलाई छुट्टै कोठा र एक जना कामदार दिने व्यवस्था भए पनि कारागारले चाहेमा एकबाट दुई जना कामदार बढाउन सक्छ ।

सर्वसाधारण कैदीलाई ‘सी’ वर्गमा वर्गीकरण गरिएको छ । उनीहरूले न त घरबाट खाना अर्डर गर्न सक्छन् न त आफ्नो शिक्षा वा पदसँग सम्बन्धित कुनै पनि सुविधा लिन ।