NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मान्छे छाडेर गाडीको पछाडि लाग्न थाले, ब्लु बसमा समस्या छैन : रवि

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि सञ्चालित ब्लु बसबारे आएका समाचारप्रति असन्तुष्टि जनाएका छन् । ब्लु बसमा कुनै समस्या नभए पनि नियोजित रूपमा समाचार बनाएर आफूलाई खेदिएको उनको आशय छ ।

‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

लामिछानेले गत साताबाट चितवनमा महिलाका लागि ब्लु बस सञ्चालनमा ल्याएका छन् । यसअघि अर्कै रङमा रहेको बसको स्वरूप परिवर्तन गर्न यातायात कार्यालयको अनुमति लिनुपर्नेमा  नलिईकन ब्लु पारिएको पाइएपछि विभिन्न सञ्चारमाध्यमले यसबारे समाचार बनाएका थिए ।

त्यस्तै, मोबाइल क्लिनिक पनि यथावत् सञ्चालन हुने उनले प्रष्ट पारेका छन् । यसअघि पुरानो मेडिकल कलेजको एम्बुलेन्स लिएर रविले आफू निर्वाचित भएको १०० दिनको अवसरमा उक्त सेवा सञ्चालन गरेकोमा विवाद भएपछि मेडिकललाई नै हस्तान्तरण गर्न लागिएको छ । लामिछानेले गाडी परिर्वतन गरेर सेवा यथावत् दिन लागिएको जानकारी दिए । उनका अनुसार, छिट्टै २ वटा सवारीबाट यस्ता दिइनेछ ।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बाआमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ,’ लामिछानेले सामाजिक सञ्जालमा यसबारे प्रष्ट पारेका छन् ।