NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुई वटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुई वटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो ।

त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ÷सात लाइनको हुनुपर्नेछ । माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ । यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ ।

माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ । आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ ।

यसैगरी पार्टीको वेबसाइट निर्माण गरी तीनमहिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने माओवादीले जनाएको छ । माओवादीले कम्तीमा १५ दिनको एक पटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र कामहरू सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादीको नीति छ ।