NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टेलिकमले ल्यायो १० गुणा बढी क्षमताको इन्टरनेट सेवा, के–के छन् सुविधा, शुल्क कति ?

काठमाडौं । नेपाल टेलिकमले एफटिटिएच इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले १ जिबिपिएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको हो ।

नेपाल टेलिकमले अहिलेसम्मकै उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमले यसअघि जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गतिको १०० एमबिपिएसको थियो । योसँगै नेपाल टेलिकमका ग्राहकले एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकमले सो सेवा ५०० एमबिपिएस र १ जिबिपिएस गरी दुई वटा प्याकेजमा उपलब्ध हुने जनाएको छ । यसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २.५ जिबिपिएस छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार, प्रिमियम एफटिटिएच ५०० एमबिपिएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।

प्रिमियम एफटीटीएच १ जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ ।

५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ ।

हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमका प्रवक्ता अधिकारीले जनाएका छन् ।