NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

वनको आम्दानीमा भ्रष्टाचार गर्ने नौजनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वनको आम्दानीमा भ्रष्टाचार गर्ने नौजनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले इलामस्थित माई नगरपालिका वडा नं १ र ३ स्थित पशुपति सामुदायिक वनको हिनामिना गरेको आरोपमा वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित ८ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

बराईलीले बजेट कार्यक्रम नै नभएको कामका लागि वन उपभोक्ता समितिको ११ लाख ५ हजार ९३० रूपैयाँसहित कुल १५ लाख पाँच हजार ९३० रूपैयाँ भुक्तानीका लागि झुट्टो बिल भरपाई पेश गरेको पाइएको छ ।

उनलाई सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा(१) बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ।

बराईलीले गरिबी निवारण शिर्षकको लागि छुट्याइएको बजेटलाई आफू अनुकूल किर्ते कागजात बनाएर कार्यक्रममै नभएको पुल निर्माणमा खर्च भएको नाममा चार लाख रूपैयाँको बिल भरपाई गरेका छन् ।

किर्ते कागजात तयार पारेर स्टेशनरी सामाग्री, बोटविरुवा खरिद वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाइ, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नै नभएको ऐलानी जग्गा खरिद गरेका छन् ।

यसैका लागि उनले वन उपभोक्ता समितिसहितको रकम झुट्टो बिल भरपाई गरेर अपचलन गरेको अनुसन्धानमा देखिएको हो ।

यो प्रकरणमा आयोगले बराईलीसहित वन उपभोक्ता समूहका तत्कालिन सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा, तत्कालिन कोषाध्यक्ष राम कुमारी खत्री, उपभोक्ता तथा चिलाउने गौडा हिले खोला क्रसिङ फुटपात पुलका अध्यक्ष दिलबहादुर मगर, उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईली, दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेत, उपभोक्ता समूहका तत्कालिन सचिव राम बहादुर मगर र तत्कालिन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।