NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सिआइबीको तीन घण्टा लामो बयानमा नेता नेपालले के भने ?

काठमाडौं । ललितानिवास जग्गा हिनामिनासम्बन्धि मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग बयान लिएको छ । सोमबार बेलुका सिआइबीमा नेता नेपालसँग तीन घण्टा लामो बयान लिइएको हो ।

सिआइबीले लिएका बयानमा नेता नेपालले भौतिक योजना मन्त्रालयबाट आएको प्रस्तावअनुसार असल नियतले बिशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धि नीतिगत निर्णय गरेको बताएका छन् । सिआइबीका एक अधिकारीले नेपालवाचसँग भने ,‘थप आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।’

नेता नेपाल २०६६–६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग मंगलबार बयान हुने सम्भावना छ । भट्टराईलाई पनि सिआइबीले बयानमा बोलाइसकेको छ । उपत्यका बाहिर पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै भट्टराईले मंगलबार वा बुधबार उपस्थित हुने जानकारी गराएका छन् ।

गत असार १२ मा ललिता निवास जग्गा प्रकरणका केही आरोपितलाई पक्राउ गरेर अघि बढेको अनुसन्धान आउँदो भदौ पहिलो साताभित्र पूरा गरिसक्नुपर्ने बाध्यता सीआईबीलाई छ । संगठित अपराधको कसुरमा आरोपित पक्राउ परेपछि अनुसन्धान गर्न प्रहरीलाई अधिकतम ६० दिनको समय हुन्छ । यो अवधिमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिसक्नुपर्नेछ ।