NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते
ब्रेकिङ :

पूर्वप्रधानमन्त्री नेपालसँग सिआइबीले लियो बयान

काठमाडौं । ललितानिवास जग्गा हिनामिनासम्बन्धि मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग बयान लिएको छ । सोमबार बेलुका सिआइबीमा नेता नेपालसँग तीन घण्टा लामो बयान लिइएको हो ।

यूरोप भ्रमणमा रहेका नेता नेपाल सिआइबीले बयानमा बोलाएपछि भ्रमण छोट्याएर सोमबार बिहान नेपाल फर्किएका थिए । सिआइबीले उनलाई बेलुका बोलाएर बयान लिएको हो । स्रोतका अनुसार नेता नेपाललाई नै सहज हुने गरी बेलुकाको समयमा बयान लिइएको हो ।

बयानमा नेता नेपालले भौतिक योजना मन्त्रालयबाट आएको प्रस्तावअनुसार असल नियतले बिशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धि नीतिगत निर्णय गरेको बताएका छन् । ‘उहाँसँग विस्तृत बयान भएको छ,’ सिआइबीका एक अधिकारीले नेपालवाचसँग भने ,‘थप आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।’

नेता नेपाल २०६६–६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो ।

सिआइबीले आइतबार पूर्वमुख्यसचिव लिलामणी पौडेलसँग बयान लिएको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग मंगलबार बयान हुने सम्भावना छ । भट्टराईलाई पनि सिआइबीले बयानमा बोलाइसकेको छ । उपत्यका बाहिर पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै भट्टराईले मंगलबार वा बुधबार उपस्थित हुने जानकारी गराएका छन् ।

ललितानिवासको करिब एक सय ४० रोपनी जग्गा हिनामिनामा सिआइबीले कीर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा नीतिगत निर्णयमा संलग्नलाई पनि अनुसन्धानको दायरामा ल्याउन गत साता निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्रीहरुसँग पनि बयान लिन थालेको हो ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी

बालुवाटार प्रकरण : को-को माथि बज्दैछ खतराको घण्टी ?