NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भारतीय नेताले नेपालमा किनेको घरजग्गा जफत

काठमाडौं ।एक भारतीय नेताले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिबाट काठमाडौंमा खरिद गरेको घरजग्गा सरकारले जफत गरेको छ । विगतमा आतंकवादी गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंको जोरपाटीमा किनेको १२ आना जग्गा र त्यसमा बनेको घर जफत गरिएको हो । होजाईले नेपाली महिला सरिता गिरीसँग बिहे गरी उनको नाममा सम्पत्ति लुकाएका थिए ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले होजाईको घरजग्गा जफत गरेको हो । घरजग्गा खाली गरिसकिएको र अब लिलामीबाट बिक्री गरिने विभागका महानिर्देशक फणीन्द्रमणि पोखरेलले बताए । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले सो घरजग्गा जफत गर्ने फैसला गरेकोमा त्यसलाई हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने, ‘निरञ्जन होजाईसँग विवाह गरेकी सरिता गिरी सो घरमा बस्दै आएकोमा हामीले खाली गराएर सुरक्षाका लागि प्रहरी खटाएका छौँ ।’

होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवादसम्बन्धी गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो । सरिता ०६९ सालमा पक्राउ परेकी थिइन् । उनको परिवारैविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले १९ पुस ०७० मै दोषी ठहर गरी सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । जुन फैसला बल्ल कार्यान्वयन भएको हो ।

भारतीय नागरिक होजाई पनि १३ वर्षअघि नेपालमै पक्राउ परेका थिए । ०६८ को असारमा प्रहरीले उनलाई पक्राउ गरी भारतलाई बुझाएको थियो । नेपालमा मुद्दा हुँदाहुँदै त्यसतर्फ अनुसन्धान गरी गोप्य रूपमा उनको सुपुर्दगी भएको थियो ।

भारतमा नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)ले होजाईविरुद्ध मुद्दा दायर गरेको थियो । राज्यकोषको करोडौँ रकम राज्यविरुद्ध नै युद्ध लड्न भन्दै दुरुपयोग गरेको अभियोगमा सन् २०१७ मा उनी दोषी ठहर भएका थिए । त्यसअघि नै जेलबाट छुटिसकेका उनी भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरी राजनीति गरिरहेका छन् । सन् २०१५ मा उनी असामको नर्थ कचार हिल्स स्वायत्त परिषद्को प्रमुख प्रशासकमा भाजपाबाट निर्वाचित भएका थिए । उनको विद्रोही समूह विघटन भइसकेको छ ।

डिमा हलाम डाओगा नामक सशस्त्र समूह स्थापना गरी होजाईले हिंसात्मक गतिविधि गरेका थिए । भारतमा मोस्टवान्टेड भएपछि नेपालमा आई नागरिकता र पासपोर्ट बनाएर सिंगापुर, मलेलियालगायत देश आउने–जाने गरेको पत्ता लागेको थियो । भारतीय अधिकारीकै सूचनाका आधारमा नेपालले उनलाई पक्राउ गरी सुपुर्दगी गरेको थियो । हाल उनी भाजपा नेताका रूपमा असाममा राजनीतिक गर्दै आएका छन् । नेपालको कानुनमा भने उनी फरार अभियुक्त छन् । अदालतले उनलाई चार वर्ष कैद र आठ करोड ६३ लाख ४७ हजार चार सय ४७ जरिवाना गरेको छ ।

होजाईले धरान उपमहानगर– ८ मा पनि एक घर खरिद गरेका थिए । सो घर पनि जफत गर्ने प्रक्रिया कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अघि बढाएको छ । गाडी र बैंक खातामा रहेको रकम पहिला नै जफत भइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।