NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

शिक्षा बहस : डिग्रिका लागिमात्रै पढ्ने संस्कार कसरी हावी भयो ?

काठमाडौं । समाजशास्त्र पढ्न भर्ना भएका विद्यार्थीको पहिलो कक्षामा प्रा.डा नीति अर्याल खनाल सधैं प्रश्न गर्छिन्, ‘तपाईं यो विषय किन पढ्दै हुनुहुन्छ ?’

अनुसन्धातामेत रहेकी खनालले करिकुलमभित्रै रहेको त्यो प्रश्न विद्यार्थीतिर तेस्र्याउँदा उनीहरूको जवाफले भने सन्तुष्टि पाउँदिनन् ।

उनको अनुभवमा ९० प्रतिशत विद्यार्थीको उत्तर डिग्री हासिल गर्नमात्रै पढेको भन्ने आउँछ ।

यो जवाफ पाएपछि उनले निष्कर्ष निकालेकी छिन् – सिक्ने कुरा विद्यार्थीको प्राथामिकतामा पनि छैन । शिक्षककै प्राथामिकतामा पनि परेन । डिग्रीकै लागि मात्रै पढ्ने र पढाउने भएपछि शिक्षा कर्मकाण्ड बन्छ । कर्मकाण्डमा सिकाई हुँदैन । पेडागोजीतिर हाम्रोमा कसैले ध्यान नदिनू पनि यसकै कारण हो ।

दुवै पक्षको लागि पढ्ने र पढाउने काम कर्मकाण्डको रूपमा सिमित भएका कारण अझैसम्म पेडागोजीबारे बहस हुन नसकेको उनले बताइन् ।
आफूलाई ‘फेमिनिस्ट रिसर्चर’ भन्ने रुचाउने खनालले समाजशास्त्रमा विधावारिधी गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभाग र लैंगिक अध्ययन विभागमा एमफिल तथा विधावारिधी स्तरलाई अध्यापन गराउँछिन् । पाटन मल्टिपल क्याम्पसमा पनि स्नातकोत्तरका विद्यार्थीलाई समाजशास्त्र पढाउँदै आएकी छिन् ।

यसवाहेक उनी अध्ययन अनुसन्धानमा पनि सक्रिय छिन् । उनी सामाजिक न्यायसम्ग सम्बन्धित विषयवस्तु जस्तै महिलाविरूद्ध हुने हिंसा त्यसमा पनि सिमान्तीकृत वर्गका महिलामाथि हुने हिंसाबारे अनुसन्धान गर्छिन् । यसमा अपाङ्गता भएका महिलामाथि हुने हिंसादेखि घरेलु हिंसा पर्छन् । योसँगै लैंगिकता, प्रजनन स्वास्थ्यलगायतका विषयमा पनि आफ्नो अनुसन्धानको दायरा बढाइरहेकी छिन् । हाल उनी नेपालका विश्वविद्यालयमा के पढाउने भन्दा पनि कसरी पढाउने भन्ने विषयमा अध्ययन गरिरहेकी छिन् ।

कक्षाकोठामा शिक्षकले कलात्मक तरिकाले कसरी पढाउन सक्छ ? भन्ने विषयमा डेढ वर्षदेखि चिन्तन मनन गर्दै आएको बताउने खनालसँग शिक्षा क्षेत्रका विभिन्न विषयबारे संवाद गरिएको छ ।

दुई दशकदेखि अध्यापन गराउँदै आएकी प्रा डा अर्यालसँग विश्वविद्यालयले के पढाउने भन्दा पनि कसरी पढाउने ? विद्यार्थीमैत्री वातावरण कसरी बनाउने ? नेपालको शिक्षण पद्धतीमा विद्यमान समस्या र समाधानबारे उत्तर खोज्ने प्रयास गरिएको छ ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगमा कार्यक्रम प्रस्तोता नरोत्तम अर्याल र प्रा.डा खनालबीच भएको संवादको पूरा भिडियो तलको लिंकमा हेर्न सकिन्छः