बिहारमा पत्रकारको गोली हानी हत्या

काठमाडौं । भारतको बिहारमा पत्रकारको हत्या गरिएको छ ।
अररीया जिल्लाको रानीगञ्ज प्रखण्डमा शुक्रबार पत्रकार विमल कुमारको गोली हानि हत्या गरिएको जनाइएको छ । विमल कुमार दैनिक जागरणमा कार्यरत थिए ।
अपराधिले उनको घरमे घुसेर छातिमा गोली प्रहार गरेको दैनिक जागरणले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । चार वर्षअघि उनका भाइ कुमार शशिभूषण उर्फ गब्बुको पनि गोली हानी हत्या भएको थियो ।
भाइको हत्या मुद्दामा अहिले अदालतमा सुनुवाइ चलिरहेको छ । यस मुद्दामा विमल मात्र साक्षी रहेका थिए । अहिले विमलको हत्यालाई यही कोणबाट हेरिएको समाचारमा जनाइएको छ ।
उनको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । १५ वर्षका छोरा र १३ वर्षकी छोरी छन् ।
अपराधीहरू लागेका थिए विमलको पछि
दैनिक जागरणका अनुसार पछिल्ला दुई–तीन दिनदेखि अपराधीहरुले विमललाई पछ्याइरहेका थिए । विमलले आफ्ना सहकर्मीहरूसँग पनि यस विषयमा छलफल गरेका थिए । तर, उनलाई अपराधीहरूले मार्छन् भन्ने पत्तो थिएन ।
यो घटनालाई उनका भाइको हत्यासँग जोडिएको छ । विमलका भाइ कुमार शशिभूषण सरपंच (मुखिया) थिए । बलसारा पञ्चायतमा सरपंच हुँदा उनले अपराध नियन्त्रण गर्ने प्रयास गरेका थिए ।
सन् २०१९ मा पञ्चायतमा मोटरसाइकल चोरीको घटना भएको थियो । पीडितले यसबारे शशिभूषणलाई उजुरी गर्दा उनले मोटरसाइकल चोरीमा संलग्नलाई कुटपिट गरेका थिए । मोटरसाइकल पनि पीडितलाई फिर्ता गरिएको थियो ।
यस घटनाको बदला लिनका लागि अपराधीहरुले उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो । १२ अप्रिल २०१९ मा उनी एउटा मुद्दामा बयान दिएर अदालतबाट फर्कदै थिए । त्यही क्रममा अपराधीहरुले उनलाई गोली हाने ।
यस मुद्दामा चारदेखि पाँच जनाको नाम थियो । पक्राउ परेका सबै धरौटीमा छुटेका छन् ।
प्रतिक्रिया