चिकित्सकले सचिवलाई कालोमोसो दल्ने, प्रधानमन्त्री र मन्त्रीको घर घेर्ने !

काठमाडौं । चिकित्सकहरूले गर्ने आन्दोलन प्रायः मर्यादित र अनुशासित नै हुने गर्छन् । पेशागत धर्म र सामाजले गर्ने अपेक्षाका कारण पनि उनीहरूलाई अक्सर उग्र बन्न दिँदैन ।
तर एक पशुपन्छी चिकित्सकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।
पशुपन्छीसँग सम्बन्धित २० कार्यालयमध्ये केहीको खारेजी, कुनै गाभ्ने र कुनैलाई प्रदेशमा झार्ने निर्णय गर्दै सरकारले आर्थिक वर्ष ०८०/८१ मा शून्य बजेट विनियोजन गरेको थियो । सरकारको यस्तो कदमपछि पशुपन्छी चिकित्सक तथा सरोकारवाला विभिन्न १६ संगठन केही समयदेखि यसलाई सच्याउनुपर्ने माग राखेर संघर्षरत छन् । बुधबार यी संगठनद्वारा राजधानीमा आयोजित विरोधसभामा बोल्दै नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले डा. खराललाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् । खरालले पशुपन्छी क्षेत्रको जायज आन्दोलन तुहाउन भूमिका खेलेकाले उनलाई आफूहरूले नछाड्ने डा. श्रेष्ठको आशय छ ।
‘दीपक खराललाई म चुनौती दिन चाहन्छु, यदि यस्तै स्वेच्छाचारी गर्दै जाने हो भने उनलाई कालोमोसो दल्न पनि हामी तयार हुनेछौं,’ निकै आक्रोसित लयमा प्रस्तुत भएका उनले भने ।
डा. श्रेष्ठले आफूहरूको जायज माग पूरा गर्नुपर्नेमा नकारात्मक भूमिका खेलेको भन्दै डा. खराल र पशुपन्छी विकास मन्त्रालयकै अर्का सचिव डा. गोविन्द शर्मालाई भिजिलान्तेको संज्ञा पनि दिए ।
‘सबैभन्दा भिजिलान्ते, हाम्रो पेसामाथि कुठाराघात गर्ने कृषिविज्ञ एउटा गोविन्द शर्मा हो । त्यो चिन्न हामीले जरुरी छ,’ श्रेष्ठले भने । निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका श्रेष्ठले यो कुरा शर्मासमक्ष पु–याइदिन पनि आग्रह गरे ।
वनमा नरुचाएर खराल कृषिमा छिरेको आरोप लगाउँदै श्रेष्ठले उनीबारे पनि उस्तै टिप्पणी गरे । उनले भने, ‘अर्को भिजिलान्ते भनेको वनमा छिर्न नसकेर, वनमा नरुचाएर कृषिमा धकेलिएका दीपककुमार खराल हुन् ।’ दीपक खरालकै कारण आफूहरूको आन्दोलन तुहिन पुगेको समेत उनले बताए ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको भूमिकाप्रति पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे । आन्दोलन गर्न प्रेरित गरेर काफ्ले कृषि मन्त्रालयका सचिवद्वयसँग मिलेको श्रेष्ठको आरोप छ ।
पशुपन्छी सरोकारवालाको आन्दोलन संस्था र पेशा बचाउन भए पनि पशु सेवा विभागकी महानिर्देशक काफ्ले, मन्त्रालयका सहसचिव र भेटेरिनरी चिकित्सक दुलोभित्र पसेको उनले टिप्पणी गरे ।
आर्थिक वर्ष ०८०/८१ को बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रको बजेटमा गरिएको अमिल्दा विषयबारे प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री, कृषि सचिव र पशु सेवा विभागकी महानिर्देशकलाई विस्तृतमा जानकारी गराए पनि नजरअन्दाज गरेर समग्र पशुपन्छी क्षेत्र र पशुचिकित्सकप्रति बेइमानी गरिएको श्रेष्ठले बताए ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटले पशुपन्छी क्षेत्रलाई अन्याय गरेकाले त्यसलाई परिमार्जन गर्न कृषि मन्त्री, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आग्रह गरेका पशुपन्छी चिकित्सकलगायत सरोकारवाला त्यसलाई पूरा गर्नेतर्फ चासो नदिइएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । यसक्रममा धर्ना, –यालीलगायत कार्यक्रम गरिसकेका उनीहरूले पशु सेवा विभागमा तालालगाउनेदेखि प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्रीलगायतको निवास घेर्नेसम्मका कार्यक्रम अघि सारेका छन् ।
यस्तो छ बुधबार श्रेष्ठले दिएको अभिव्यक्ति
प्रतिक्रिया