NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

स्वास्थ्य सेवामा ‘एआई’ को प्रयोग बढ्यो तर घट्यो मानवीय सन्तुष्टि

एजेन्सी । अमेरीकाकी ४९ बर्षीया महिला केही दिनदेखि रक्तश्रावको समस्याबाट पीडित थिइन् । स्वास्थ्य समस्याले थलिएकी उनले पारिवारीक डाक्टरलाई फोन गर्दा उनको कुराकानी ती डाक्टरसँग नभएर ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सँग भयो ।

जब महिलाले एक कार्यकारीलाई डाक्टरसँग कुरा गराउन भनिन् तब थाहा भयो कि त्यहाँ कुनै पनि डाक्टरले उनलाई समय उपलब्ध गराउन सक्ने अवस्था थिएन । यति मात्र होइन, कुनै पनि डाक्टरसँग नौ सातासम्म पनि ‘अपोइन्टमेन्ट’ दिने समय थिएन ।

डाक्टरको प्रत्यक्ष अभावमा ती महिलाले आफ्नोे स्वास्थ्य अवस्थाबारे एआईसँग छलफल गर्नु परेको थियो । एआईले उनलाई जीवनशैली परिर्वतन गर्न र सावधान तथा सर्तक रहन सुझाव दियो । तर रोगका कारण रक्तश्रावबाट गुज्रिरहेकी ती महिला एआईले दिएको परामर्शबाट सन्तुष्टि भने भइनन् ।

त्यसैले उनी डाक्टरलाई भेट्न अस्पताल पुगिन् । स्वास्थ्य परिक्षण गरेपछि डाक्टरले उनलाई सिटी स्क्यान गर्न सल्लाह दिए । दुई दिन पछि उनले इ–मेल मार्फत सिटी स्कयानको रिपोर्ट प्राप्त गरिन् । त्यसपछि उनलाई शल्यक्रिया गर्न सल्लाह दिइयो ।

शल्यक्रिया गर्नुपूर्व उनलाई एआईले नै परामर्श गर्यो । यसक्रममा उनले एनेस्थेसियोलोजिस्ट वा सर्जनसँग पनि संवाद गर्न पाइनन् । शल्यक्रियाको चार दिनपछि फेरी एउटा इ–मेल आउँछ । उक्त इ–मेलमा एक नम्बरमा फोन सम्पर्क गरेर बायोप्सीको नतिजा पत्ता लगाउन निर्देशन दिइएको हुन्छ । इ–मेलमार्फत प्राप्त गरिएको उक्त नम्बरमा फोन गर्दा उनको कुराकानी फेरि कम्प्युटरद्धारा उत्पन्न एआईसँग हुन्छ ।

स्वास्थ्य परिक्षणको सबै प्रक्रिया पूरा भइसकेपछि उनलाई मेटास्टेसिससँगै उच्च ग्रेड सेरस डिम्बग्रंथि क्यान्सर भएको थाहा हुन्छ । एआईले आफैंले उपचारका विकल्पहरुको सुझाव दिन्छ । उनी विचलीत हुन्छिन् र रुँदै गर्दा उनको हातबाट फोन खस्छ । उनलाई त्यो क्षणमा सान्तवना दिने कोही पनि हुँदैन ।

यो घटनाले स्वास्थ्य क्षेत्रमा बढिरहेको एआईको प्रयोगको वास्तविकतालाई प्रतिबिम्बित गरेकोे छ । जुन कहिलेकाहीं बिरामीहरुका लागि दुःखदायी पनि हुन्छ । यो नयाँ प्रणालीले बिरामीको हेरचाह प्रक्रियामा असुविधा र असन्तुष्टि बढाइरहेको छ ।

बिरामीको सन्तुष्टिका लागि मानविय सम्पर्क महत्त्वपूर्ण : विशेषज्ञ

स्वास्थ्य विशेषज्ञका अनुसार बिरामीलाई गम्भीर कुरा बताउनु छ भने डाक्टरसँग ‘वान टू वान’ कुराकानी गर्न जरुरी हुन्छ । मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानवीय सम्पर्क बिरामीको सन्तुष्टि र उपचारको सिफारिसहरुको पालनामा प्रभावित हुन्छ ।

जकर स्कुल अफ मेडिसिनमा डाक्टर रोबर्ट ग्लैटर भन्छन, ‘चिकित्सा अभ्यास एक कला हो ।’ उनका अनुसार कुनै पनि प्रविधिले यो तथ्यलाई नकार्न सक्दैन । बिरामीले डाक्टरसँग प्रत्यक्ष सम्पर्क गर्न धेरै महत्वपूर्ण छ । रोगीको सन्तुष्टि र साझा निर्णय–प्रक्रिया मानवतामा निर्भर हुन्छ । ‘चिकित्सा (मेडिकल) यस्तो पेशा हो, जसमा माया, विश्वास र सहानुभूती सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले भने ।

एनाटोमी–फिजियोलोजी जत्तिकै महत्वपूर्ण छ मनवता

रोचिस्टर मेडिकल सेन्टरका डाक्टर पिटर पापाडाकोस भन्छन्, ‘बिरामी र डाक्टरबीच विश्वास बढाउनका लागि समानुभूती र करुणा महत्त्वपूर्ण छ । यसलाई एआईले सुझाएका तरिकाहरुबाट बयान तथा व्याख्या गर्न सकिदैन । यसको लागि मानवबीचको शिक्षा र संवाद जरुरी छ । जसरी डाक्टरलाई एन्टोमी र फिजियोलोजी पढाइन्छ त्यसैगरी मानवता, सामाजिक, विज्ञान र सञ्चारबारे पनि दिक्षित बनाउन आवश्यक छ ।