NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

‘नाडा अटो शो २०२३’ आयोजना हुँदै

काठमाडौं । नाडा अटोमोबाईल्स् एशोसिएशन अफ नेपालले सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एंव अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ ।

काठमाडौंको भृकुटी मण्डपमा भाद्र २६ देखि ३१ गतेसम्म आयोजना हुने उक्त प्रदर्शनीको प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको नाडाले जनाएको छ । यसको सह-प्रायोजकमा शिखर इन्सुरेन्स छ ।

आयोजकका अनुसार आर्थिक सुस्ताताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तिय योजनामासमेत असर पुगेको छ । यस्तो अवस्थामा नाडा अटो शोले बजारलाई चलायमान बनाउन मद्त पुग्ने आयोजकको विश्वास छ ।

प्रत्येक वर्ष ‘नाडा अटो शो’ मा सहभागी संस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गएको समय, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभइ सर्वसाधरणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ । प्रदर्शनीमा ठुला साना गरि करिब १२० वटा स्टर रहने नाडाले जनाएको छ ।

नाडाका अनुसार उक्त प्रदर्शनीमा अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो साम्रगीसमेत रहने छन् ।  यस्तै, प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ ।

उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधाकाे ख्याल राख्दै नाडाले २-पाङग्रे, ४-पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूकाे छुट्टाछुट्टै प्रदर्शन गर्ने जनाएको छ ।  नाडाले एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न तथा आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजबाट नै खल्ती एपमार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

आजदेखि भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफरसमेत रहेको  नाडाले जनाएको छ । ६ दिन सम्म चल्ने उक्त ‘नाडा अटो शो २०२३’ मा लगभग ७५ हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।