NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

४ महिनादेखि तनावग्रस्त मणिपुरमा फेरि हिंसा भड्कियो

काठमाडौं । भारतको मणिपुर राज्यमा फैलिएको जातीय दंगा अझै रोकिएको छैन् ।

म्यानमार (वर्मा)सँग सीमा जोडिने पूर्वोत्तर भारतको प्रान्त मणिपुर करिव ४ महिना यता युद्धभूमि जस्तै बनेको छ ।

रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत चर्किएको हिंसात्मक आन्दोलनका कारण मणिपुर अशान्त छ ।

यहि बर्षको मेबाट सुरु भएको त्यहाँको दंगा अझै जारी छ । बेला–बेलामा झडप भइरहेकै छन् । जारी दंगामा अहिलेसम्म १ सय ८० भन्दा बढीको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

यस्तैमा मंगलबार मणिपुरको कुकी–जोमी बाहुल्य चुराचन्दपुर र मेइती बहुल विष्णुपुर जिल्लाको सिमानामा फेरि दोहोरो गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

खोइरेन्टेक क्षेत्रमा ठुलो मात्रा गोली हानाहान हुँदा २ जनाको त ज्यान नै गयो अन्य धेरै घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । मंगलबार मणिपुर विधान सभाको एकदिने अधिवेशन बोलाइएको भएपनि केही मिनेटपछि नै स्थगित भएको थियो ।

प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको झडप राति अबेरसम्म जारी रहेको थियो । घटनामा ज्यान गुमाएका मध्ये एक जना जङ्मिनलुन गङ्ते रहेको बताइएको छ ।

उनी गंगटे गाउँका सुरक्षा गार्ड थिए । यद्यपी चुराचन्दपुर प्रहरीले उनको मृत्यु गोली लागेर वा विष्फोटबाट भएको खुल्न नसकेको जनाएको छ । गोली हानाहानको यो घटनापछि उक्त क्षेत्रमा तैनाथ केन्द्रीय सुरक्षा बल र सेनाले अपरेशन सुरु गरेको थियो ।

आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । मणिपुरमा गत मे ३ यता जातीय हिंसा सुरु भएदेखि नै चुराचन्दपुर–विष्णुपुर सीमामा लगातार झडप र हिंसा भइरहेका छन् ।

यसअघि अगस्ट १८ मा उखुरुल प्रहरी चौकी क्षेत्रमा तीन जनाको हत्या भएको थियो ।