आठ वर्षपछि खुल्यो तातोपानी नाका, चिनियाँले गरे स्वागत
सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ ।
आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।
नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुग्नुभएका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए ।
विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाएका थिए। साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया