NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

दुई भोटका लागि दुईजनाको हत्या, न्यायाधीसले भने- यस्तो घटना पहिले कहिल्यै देखेको थिइन

काठमाडौं । भारतको राष्ट्रिय जनता दलका पूर्व सांसद प्रभुनाथ सिंहलाई २८ बर्ष अघि भएको दोहोरो हत्या प्रकरणमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

सन् १९९५ मा भएको उक्त घटनामा सिंहलाई जन्मकैदको सजाय सुनाइएको हो । उक्त घटनामा मारिएका परिवारलाई जनही १० लाख र घाइतेका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि अदातले आदेश दिएको भारतीय सञ्चार माध्याम दैनिक भास्करले जनाएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश सञ्जय किशन कौलले सिंहलाई २ वटा विकल्प दिए ।  जीवनदान वा मृत्यु ? त्यसपछि न्यायाधीश विक्रम नाथले सोधे ‘प्रभुनाथ सिंहको उमेर कति हो ?’ उनका वकिलले उनको उमेर ७० वर्ष भएको बताए ।

यसपछि न्यायाधीयले भने , ‘भगवान मालिक हुनुहुन्छ । आज सम्म यस्तो घटना कहिल्यै देखेको छैन ।’  यस मुद्दामा प्रभुनाथ सिंहलाई पटनाको अदालतले २००८ मा सफाइ दिएको थियो ।

पछि सन् २०१२ मा पटना उच्च अदालतले पनि यो निर्णयलाई सदर गरेको थियो । त्यसपछि पीडितका भाइले सर्वोच्च अदालतमा अदालतको निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए ।

सन् १९९५ मा बिहार विधानसभा चुनावका क्रममा १८ वर्षीय राजेन्द्र राई र ४७ वर्षीय दरोगा राईको छपराको मशरखमा मतदान केन्द्र नजिकै गोली हानी हत्या गरिएको थियो ।

दुवैले प्रभुनाथ सिंहको निर्देशनअनुसार मतदान नगरेको बताइन्छ । यो त्यही चुनाव थियो जसमा अशोक सिंहले प्रभुनाथ सिंहलाई पराजित गरेका थिए ।

त्यसपछि प्रभुनाथ सिंहले अशोक सिंहलाई ९० दिनभित्र मार्ने धम्की दिएका थिए । अशोक सिंहको ३ जुलाई १९९५ मा हत्या भएको थियो । सांसदकारूपमा उनको ९० औं दिन थियो ।

गत अगस्ट १८ मा सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ सकिएको थियो । अदालतले प्रभुनाथ सिंहलाई दोषी ठहर गरेको थियो । सिंह हाल विधायक अशोक सिंह हत्या प्रकरणमा झारखण्डको हजारीबाग सेन्ट्रल जेलमा आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

को हुन् प्रभुनाथ सिंह ?

प्रभुनाथ सिंह सन् १९८५ मा मशरखबाट स्वतन्त्र उम्मेदवार बनेर पहिलो पटक सांसद बनेका थिए । सन् १९९० मा लालुप्रसादको पार्टीबाट सांसद बने । उनले सन् १९९८, १९९९, २००४ र २०१३ मा महाराजगञ्जबाट लोकसभा चुनाव जिते ।

सन् १९९५ मा विधायक अशोक सिंहको हत्यापछि भएको उपचुनावमा भने अशोकका भाइ तारकेश्वर सिंह विजयी भएका थिए ।

प्रभुनाथ सिंहमाथि चुनावी अभियानका क्रममा तत्कालीन डीएम (डिस्ट्रीक्ट मजिस्ट्रेट) कुन्दन कुमारलाई धम्की दिएको आरोप लागेको थियो । उनले डीएमलाई कफन किन्न भनेका थिए ।

प्रभुनाथ सिंहविरुद्ध प्रहरीले दुईवटा मुद्दा दर्ता गरेको थियो । पछि प्रभुनाथले यसलाई अस्वीकार गर्दै आफ्नो स्पष्टीकरण दिएका थिए ।

प्रभुनाथ सिंहका सिवानका पूर्व सांसद मोहम्मद शाहबुद्दीनसँग पनि दुश्मनी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । दुवैका समर्थकबीच पटकपटक झडप समेत हुने गरेको छ । यस विषयमा बारम्बार त्यस क्षेत्रमा तनाव हुने गरेको छ ।