NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चीन भ्रमणमा चुच्चे नक्साबारे प्रधानमन्त्री प्रचण्डले कुरा राख्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउने भएका छन् ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री प्रचण्डले भ्रमणको समयमा उठाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहाल असोजको पहिलो साता चीन भ्रमणमा जाँदै छन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे प्रधानमन्त्रीले भ्रमणको क्रममा कुरा उठाउने उनले बताए ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चुच्चे नक्साको विषयमा सरकार पनि प्रष्ट हुनुपर्ने र जनतालाई पनि प्रष्ट पार्दै लैजानुपर्ने बताए ।

केहि दिन अघि चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो ।

नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । चीनले जारी गरेको उक्त नक्सालाई लिएर बिभिन्न देशले विरोध जनाइरहेका छन् ।

नयाँ नक्सामा भारत र फिलिपिन्सले औपचारिक असहमति जनाएका छन् भने मलेसियाले आफ्नो भूभाग समेटेर नक्सा जारी गरेको भन्दै कडा आपत्ति जनाएको छ । नेपाल भने यो विषयमा अहिलेसम्म मौन छ ।