बालेनलाई कटाक्ष गर्दै काठमाडौं प्रशासनले भन्यो – अनावश्यक वक्तव्यबाजी नगर्नू

काठमाडौं । जिल्ला प्रशासन काठमाडौंले कर्तव्य पालनामा रहेका कर्मचारी र सुरक्षाकर्मीको काममा बाधा पुग्ने किसिमले जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
आज जिप्रकाले प्रेस विज्ञप्ती जारी गर्दै प्राप्त जिम्मेवारी अनुसार फिल्डमा खटिने सुरक्षाकर्मीमाथि गुनासो भएमा तथ्य प्रमाणसहित जानकारी गराउन पनि आग्रह गरिएको छ ।
राम्रो मनासायले काम गर्दा पनि निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ ।
त्यस्तै सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारीको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै ठाउँमा विगतबाटै भइरहेको स्पष्ट पारेको छ ।
योसँगै सार्वजनिक बिदाका दिन सरकारी सवारीको प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास लिनुपर्ने पनि स्पष्ट व्यवस्था रहेको पुनः स्मरण गराइएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै वक्तव्य जारी गरेको थियो । जसमा प्रहरीले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिना काफ्लेलाई अमर्यादित व्यवहार गरेकोसमेत उल्लेख थियो ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी सञ्चालन गरेको विषयमा सोधपुछ गर्दा बालेनले महानगरको गाडी कसैले रोकेमा सिंहदरबारमा आगो लगाउने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटस पछि आएका विभिन्न अभिव्यक्तिका कारण प्रशासन पनि प्रेस विज्ञप्ती जारी गर्न बाध्य भएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया