NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

भारतविरुद्ध नेपाल : ब्याटिङ सशक्त, बलिङ फितलो

काठमाडौं ।दुई पटकको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको च्याम्पियन भारतविरुद्ध नेपालले कमजोर प्रदर्शन गरेको छ । एसिया कपअन्तर्गत समूह ‘ए’मा सोमबार नेपालले आफ्नो अन्तिम खेलमा विश्व क्रिकेटको शक्तिशाली राष्ट्र भारतसँग प्रतिस्पर्धा गरेको थियो । बलिङमा कमजोर प्रदर्शन गरेपछि नेपाल भारतसँग १० विकेटले पराजित भयो । श्रीलंकाको क्यान्डीमा भएको खेलमा नेपालले टस हारी पहिलो ब्याटिङ गरेको थियो ।

पहिलो ब्याटिङमा नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रनको योगफल खडा गर्‍यो । वर्षाले प्रभावित खेलमा भारतले नयाँ लक्ष्यको रूपमा २३ ओभरमा एक सय ४५ रन प्राप्त गरेको थियो । भारतले डिएलएस नियममा नेपाललाई १७ बलअगाडि नै पराजित गर्‍यो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि अविजित एक सय ४७ रनको साझेदारी गरे । दुवैले प्रतिओभर ७.२८ रनमा ब्याटिङ गरेका थिए ।

रोहितले ५९ बलमा ६ चौका र पाँच छक्का प्रहार गर्दै ७४ रन जोडे । गिलले ६२ बलमा आठ चौका र एक छक्काको सहयोगमा ६७ रन बनाए । बलिङका क्रममा नेपालका सोमपाल कामी सबैभन्दा खर्चिलो देखिए । उनले दुई ओभर बलिङ गर्दा २३ रन खर्चे । उनको प्रतिओभर इकोनोमी ११.५० रन रह्यो । भारतका अनुभवी ब्याट्सम्यानविरुद्ध नेपालका बलर निरीह देखिए । गुल्सन झा र सन्दीप लामिछानेले प्रतिओभर नौ रनमाथि खर्चिएका थिए ।

सन्दीपले चार ओभरमा ३९ तथा गुल्सनले १.१ ओभरमा ११ रन दिए । नेपालका लागि करण केसी र ललित राजवंशी इकोनोमी देखिए । दुवैले प्रतिओभर ६ रन दिए । करणले चार ओभरमा २६ तथा ललितले चार ओभरमा २४ रन दिएका थिए । यसअघि ब्याटिङ गरेको नेपालका लागि एक खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर आसिफ शेखले ५८ रनको सर्वाधिक योगदान दिए । नेपालले पहिलो पावर प्लेमा ६५ रन बनाएको थियो ।

नेपाली ब्याट्सम्यानले स्पिनरको सामना गर्न सकेनन् । कप्तान रोहितले विकेटको दुवै छेउबाट सिमर र स्पिनर प्रयोग गर्दा नेपालका तीन मुख्य ब्याट्सम्यान सस्तै रनमा आउट भए । प्रतियोगितामा पहिलोपटक अवसर पाएका भीम सार्की सात रन, कप्तान रोहित पाँच रन र कुशल मल्लले दुई रन जोडे ।

गुल्सन र दीपेन्द्रसिंह ऐरीले कमजोर ब्याटिङ सम्हाले । बलिङका क्रममा भारतका लागि रवीन्द्र जडेजा सर्वाधिक सफल भए । उनले १० ओभरमा ४० रन खर्चंदै तीन विकेट लिए । यसैगरी, मोहमद सिराजले ६१ रनमा तीन विकेट लिए । मोहमद सामीले २९ रनमा एक विकेट हात पारे । हार्दिक र सार्दुल ठाकुरले समान एक विकेट लिए । नयाँ पत्रिकामा खबर छ ।