NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

फर्जी नतिजाको चिर्कटो बोकेर लोक सेवाको परीक्षा दिन गएपछि…

अनियमित कार्य गरेपछि चार परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं । लोक सेवा आयोगले आफूले सञ्चालन गर्ने परीक्षालाई अनुशासित र मर्यादित बनाउन विभिन्न नियम बनाएको छ । तथापि, परीक्षाको मर्यादा उल्लंघन गर्ने क्रम रोकिएको छैन । नयाँ–नयाँ जुक्ति निकाल्दै लोक सेवालाई छक्याउने प्रयत्न परीक्षार्थीले गरिरहेका छन् । यसैक्रममा आयोगको कठोर नियम बेवास्ता गर्दै परीक्षामा सामेल हुने चार परीक्षार्थी कारबाहीमा परेका छन् ।

शाखा अधिकृत र नायब सुब्बाको परीक्षामा अनुशासनहीन गतिविधि गरेपछि आयोगले उनीहरूको लिखित परीक्षा रद्ददेखि एक वर्ष निलम्बनसम्मको निर्णय गरेको हो ।

गत भदौ २ गते सञ्चालित नायब सुब्बाको परीक्षामा वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर गएपछि लक्ष्मी सुब्बाको सबै परीक्षा रद्द गरिएको छ । सुरुमा आफूसँगै प्रश्नपत्र लिएर गएकी सुब्बाले पछि सोही दिन कार्यालयमा आई त्यसलाई फिर्ता गरेकी थिइन् ।

गत साउन २५ मा सञ्चालित शाखा अधिकृतको परीक्षामा गौरव गुरुङ नाम गरेका व्यक्ति प्रथम चरणको परीक्षामा अनुत्तीर्ण हुँदाहुँदै पनि सहभागी भए । उक्त परीक्षामा सहभागी हुन उनले उत्तीर्ण भएका परीक्षार्थीको नाम इडिट गरेर आफ्नो नाम राखेका थिए । अनौठो जुक्ति लगाउँदै आयोगका कर्मचारीलाई छक्याएर परीक्षामा सामेल गुरुङको पनि सबै परीक्षा रद्द गरिएको छ । साथै कुनै पनि लिखित परीक्षामा एक वर्षसम्म सामेल हुन नपाउने निर्णय गरिएको आयोगले जनाएको छ ।

गत साउन २५ मा सञ्चालित शाखा अधिकृतको परीक्षामा खण्ड (ग) र (ख) को उत्तरपुस्तिकाको बाहिरी कभर एउटाको अर्कोमा च्यातेर थप कापीसमेत स्टिच गरेको पाइएपछि देवेन्द्र कटुवालको परीक्षा रद्द गरिएको छ ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिष्ठानको बेसिक एरोड्रोम रेस्क्यु एण्ड फाइटिङ कोर्षको परीक्षामा सहभागी एक परीक्षार्थीको परीक्षा पनि रद्द भएको छ । ती परीक्षार्थीले विषयगत उत्तरपुस्तिकाको बीचको पाना च्यातेको खुलेपछि आयोगले अनियमित कार्य ठहर गर्दै परीक्षा रद्द गरेको हो ।