NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

आगामी महाधिवेशनमा देउवा समूहबाट सभापतिको उम्मेदवार हुन्छु: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिए ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनले बताए ।

‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु,’ उनले भने ।