NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कोशी सरकारविरुद्धको मुद्दामा निवेदकका तर्फबाट जवाफी बहस सकियो

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा जवाफी बहस सकिएको छ ।

जवाफी बहस सकिएपछि इजलासले आजै फैसला गर्ने गरी तयारी गरिरहेको छ ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तवरले विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निवेदकका तर्फबाट सोमबार, विपक्षीका तर्फबाट मङ्गलवार बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो ।

यो मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट सुनुवाइ भइरहेको थियो ।

भदौ १७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।

उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ । रिटमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न असफल भएको र संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत माग गरिएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा, अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, तत्काल बैठकको अध्यक्षता गर्ने प्रदेशसभा सदस्य गीता तिम्सिना र कोशी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।