राष्ट्रपति पौडेलद्धारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरे ।
पुरस्कृत कविहरूमा उमेश पुन ( छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल ( रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी ( ईजा ! मुई गोठ नाइँ झान्या हुँ ) दार्चुला, जीवन आरोही ( प्रश्नहरुको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर ( हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा ( कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी ( भेरीः अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा ( सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई ( नौरानको नाम) सुनसरी र राधिका कल्पित ( परिचय पत्र ) काठमाडौँ रहेका छन् ।
त्यस अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए ।
हामीले आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उनकाे सुझाव थियो । प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए ।
उनले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गरे । सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया