NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

अझै कहिलेसम्म छ डेंगुको जोखिम ?

काठमाडौं । गत वर्ष महामारीको रुप लिएको डेंगु संक्रमण यो वर्ष पनि उकालो लागेको छ । पुसदेखि भदौसम्म काठमाडौंमा ४६३ जनामा डेंगु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक छ ।

इडिसिडीका अनुसार यो वर्ष सुनसरीमा सबैभन्दा धेरै डेंगु संक्रमण पुष्टि भएको छ । सुनसरीमा १४ हजार २२८ जनामा डेंगु देखिएको छ । गत महिनाको मात्र तथ्यांक हेर्ने हो भने पनि सुनसरीमा ७ हजार २४८, मोरङमा १ हजार ४८७, धादिङमा १ हजार ४८८, झापामा ८५४, काठमाडौंमा ३३३, धनकुटामा १८७, संखुवासभामा २१९, धनुषामा ३३१ र कैलालीमा १६९ जनामा डेंगु पुष्टि भएको छ । यो स्थानमा सबैभन्दा धेरै संक्रमण देखिएको हो ।

उपत्यामा पनि बढ्दो

इडिसिडीको तथ्यांक अनुसार पुसदेखि यता उपत्यकामा पनि डेंगु संक्रमण दर बढ्दो क्रममा छ । उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमध्ये सबैभन्दा धेरै काठमाडौंमा चार सय ६३ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा १७२ र ललितपुरमा १८५ जनामा डेंगु संक्रमण देखिएको छ ।

भदौ महिनाको सुरुवाती दिनका तथ्यांक हेर्दा पनि एक महिनामा मात्रै काठमाडौंमा ३३३, भक्तपुरमा ११७ र ललितपुरमा १३६ जनामा डेंगु संक्रमण देखिएको छ ।

कहिलेसम्म होला डेंगुको त्रास ?

काठमाडौंका ठूला केन्द्रिय अस्पतालहरुमा अहिले डेंगुको संक्रमणका बिरामी उपचारका लागि आइरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालको  इमरजेन्र्सीमा गएको एक हप्तामा २२८ जना डेंगुका बिरामी आएका छन् । अस्पतालमा अहिले दिनको २ देखि ४ जना सम्म डेंगुका बिरामी आउने गरेका छन् ।

त्यस्तै, पाटन अस्पताल र वीरमा पनि केही मात्रामा फाट्टफुट्ट डेंगुका बिरामी आइरहेको अस्पतालले जनाएको छ ।

७५ जिल्लामा फैलिएका डेंगु संक्रमणबाट यो वर्ष १४ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ । यो वर्ष डेंगु संक्रमणबाट सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित भएको छ भने सबैभन्दा कम डेंगु संक्रमण कैलालिमा देखिएको इडिसिडीको तथ्यांक छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा ५१ हजार बढीमा डेंगु संक्रमण देखिएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ शेरबहादुर पुनले गएको महिनाभन्दा अहिले डेंगु बढ्दै गइरहेको बताए । जसकारण अझै एक दुई महिना डेंगुको जोखिम रहेको उनी बताउँछन् । ‘पोस्ट मनसुनसम्म डेंगुको जोखिम बढ्छ । पोहोरको तुलनामा अहिले डेंगु कम देखिएको छ तर यो बढ्दैन भन्न सकिदैंन,’ उनले भने ।

उनका अनुसार अस्पतालमा डेंगुका बिरामीको चाप अघिल्लो वर्षको तुलनामा निकै कम छ ।

‘डेंगुको जोखिम न्युन गर्न लामखुट्टेको लार्भा नष्ट गर्नुपर्छ’, उनले भने, ‘अघिल्लो वर्ष धरानमा लामखुट्टेको लार्भा नष्ट नगरेर डेंगु आउटब्रेक भएको थियो । डेंगु संक्रमण कम गर्न लामखुट्टको लार्भा नष्ट नगरी सम्भव छैन् । ’