NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आँखा कसरी सुरक्षित राख्ने ?

काठमाडौं । आँखा शरीरको सेंवेदनशील अंग हो । यसको हेरचाह र सुरक्षा पनि त्यसै अनुरुप चाहिन्छ । आँखामा विभिन्न संक्रमणले गर्दा समस्या उत्पन्न हुन्छन् । आँखाको सुरक्षित हेरचाह गर्न खानपानदेखि सरसफाइसम्मको ठूलो भूमिका हुन्छ ।

विशेषगरी धुलो, धुवाँ, फोहोर र हानिकारक कणहरुले आँखामा यस्ता समस्या निम्त्याउँछ । आँखा सुरक्षित राख्न धुलो, धुँवा तथा घामहरुबाट जोगिनुपर्ने आँखा रोग विशेषज्ञ डा सविना श्रेष्ठ बताउँछिन् । उनका अनुसार कहिलेकाही आँखामा भिटामिनको कमी वा उचित रेखदेख नहुँदा पनि समस्या आउँछ ।

आँखा पाक्ने समस्या, मोतियाबिन्दु, एम्ब्लियोपिया (जसलाई अल्छि आँखा पनि भनिन्छ), दृष्टिदोष, सुख्खापनलगायत आँखामा देखिने समस्या हुन् । आँखालाई सुरक्षित राख्न हेलच्क्रयाई गर्न नहुने उनी बताउँछिन् ।

‘आँखामा समस्या हुनासाथ बाहिर गएर औषधि राख्ने चलन छ । यस्तो गर्नु हुँदैन्,’ उनी भन्छिन्, ‘आँखामा सानो समस्या हुँदा पनि चिकित्सको सल्लाह लिएर मात्र औषधि राख्नुपर्छ ।’ उनका अनुसार सानो चोटले पनि आँखामा गम्भीर समस्या हुन सक्छ । आँखामा सानो चोट लाग्दा घरमै बसेर उपचार गर्न तल्लिन हुँदा यसले झन आँखामा संक्रमण गराउने उनले सुनाइन् ।

यस्तो गर्दा आँखाको नानीमा घाउ हुन सक्छ ।  जसलाई कर्नियल अल्सर भनिन्छ । आँखामा धुलो पर्दा धेरैले आँखा मिच्ने गर्छन् तर यसरी आँखा मिच्दा यसले आँखामा अन्य समस्या गराउने उनी बताउँछिन् । ‘आँखामा धुलो पर्दा सफा पानीले आँखा पखाल्नु पर्छ । आँखामा केमिकल तथा अन्य केहीको कण छिरेमा अस्पताल जानु अघि सफा पानीले आँखा धोएर जानु पर्छ,’ उनले भनिन् ।

आँखाको सुरक्षा गर्न के गर्ने ?

आँखा सुरक्षित राख्न आँखामा जथाभावी औषधिको प्रयोग नगर्न उनी सुझाउँछिन् । थाहा नभएको औषधि आँखामा हाल्दा यसले थप समस्या गराउँछ । आँखा सुरक्षित राख्न आखाँमा चोटपटक लाग्न दिनु हुँदैन ।

यसैगरी, आँखालाई धुलोबाट पनि टाढा राख्नु पर्छ । यसको लागि चश्माको प्रयोग गर्न सकिन्छ । आजकाल अधिकांश व्यक्तिको काम कम्प्युटरमा हुन्छ । कम्प्युटरमा धेरै समय काम गर्दा पनि आँखामा विभिन्न समस्या आउँछ ।

कम्पयुटर तथा मोबाइलबाट आउने विकिरणबाट बच्न ब्लु कट चश्माको प्रयोग गर्न सकिन्छ । कम्प्युटरमा काम गर्दा समय समयमा आराम लिनुपर्छ । २० मिनेट काम गरेपछि २० सेकेण्ड आराम पनि गर्न सकिन्छ । यसले कम्प्युटर भिजन सिन्ड्रोमबाट बचाउँछ ।आँखा सुरक्षित राख्न सेतो पुतलिबाट जोगिनु पर्ने उनको भनाइ छ । आँखा चिलाउँदा, सुख्खा हुँदा, पोल्दा आर्टिफिसियल टियर्सको प्रयोग गर्न सकिन्छ ।

आँखाको सुरक्षका लागि कस्तो खानपान ?

उनका अनुसार स्वस्थ आँखाको लागि खानपानको महत्वपूर्ण भूमिका हुन्छ । आँखाको लागि भिटामिन ‘ए’ आवश्यक पर्छ । जुन हरियो सागपातसब्जी तथा पहेँलो फलफूलहरुमा पाइन्छ ।

भिटामिन ‘ए’ ले आँखालाई स्वस्थ राख्न मद्त गर्छ । यसको कमी हुँदा आँखा सुख्खा हुने, आँखाको नानीमा घाउ हुने, परेला भित्र फकर्ने जस्ता समस्या देखिन सक्छन् ।
यसले पछि आँखामा गम्भीर असरसमेत पुयाउन सक्ने उनी बताउँछिन् ।

बालबालिकामा उचित खानपान नहुँदा मायोपियाको समस्यासमेत देखिने गर्छ । त्यसैले स्वस्थ आँखाको लागि हरियो सागसब्जी, माछामासु, मौसमी फलफूल जस्ता पोषिलो खानेकुरा खानुपर्छ।

(नेत्र रोग विशेषज्ञ सविना श्रेष्ठसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेको कुराकानीमा आधारित)