NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १२ गते

प्रधानमन्त्रीसँग शनिबार को–को जाँदैछन् अमेरिका ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अमेरिका जाने भएका छन् ।

प्रधानमन्त्री दाहालले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत :२०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भन्ने विषयमा प्रधानमन्त्रीले प्रवचन दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिने र १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका रहेको छ। उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी लगायत सहभागी हुनेछन् । ११ सदस्यीय टोली भ्रमणमा जाने तय भएको छ । उनी अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।